इटहरी : सुरक्षित गर्भपतनको विषयमा इटहरीका पत्रकारहरू सँग छलफल गरिएको छ । युवा विकास तालिम केन्द्र इटहरीले गुणस्तरीय, लाञ्छनारहित तथा युवा मैत्री सुरक्षित गर्भपतन सेवाको विषयमा इटहरीका पत्रकारहरू सँग छलफल गरेको हो ।

सन २०२० सम्ममा, राष्ट्रिय तथा प्रादेशिक तहमा प्रभावकारी कार्यान्वयन संयन्त्रको स्थापनामार्फत युवा मैत्री सुरक्षित गर्भपतनको उपलब्ध हुनु पर्ने विषयमा जानकारी गराइएको थियो । पछिल्लो समय असुरक्षित गर्भपतनको सङ्ख्या बढ्दै गएको तथ्याङ्क युवा विकास मञ्चका संस्थापक अध्यक्ष अरुण खड्काले प्रस्तुत गरेका थिए ।

उमेर नपुगेका बालिकाहरूमा समेत असुरक्षित गर्भपतन बढिरहेको तथ्याङ्क देखाउँदै युवा विकास केन्द्रले राइट हियर राइट नाउ, भिजिवल इम्प्याक्टको सहयोगमा पत्रकारहरूलाई फेलोसिप दिने भएको छ ।

संस्थापक अध्यक्ष खड्काले भने 'आगामी दिनमा सुरक्षित गर्भपतनको जानकारी आम जनता सम्म पुगोस भनेर संचारकर्मीहरुलाई प्रजनन सम्बन्धी लेख्न उत्प्रेरित गर्न खोजेका हौ ।'

समाजको डरले लुकिछुपी गर्भपतन गर्ने जस्ता कारणले दैनिक असुरक्षित गर्भपतनको सङ्ख्या बढेको भन्दै सञ्चाकर्मीहरुले सुरक्षित गर्भपतनको बारे आम मानिसलाई सूचना प्रवाह गरी सहयोग गर्न राइट हियर, राइट नाउकी कार्यक्रम संयोजक तारा राईले आग्रह गरेकी थिइन् ।