धरान : कोशी अस्पताल विराटनगरले बिदेशबाट आएको भन्दै बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसोलेसनमा बस्न सल्लाह दिएका विरामी आज शनिबार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएर पुनः घर फर्किएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्थ डेक्समा विहान १० बजे आईपुगेका उनी आफै घरमै क्वारेन्टाईनमा बस्ने भन्दै फर्किएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आकष्मिक कक्षका इन्चार्ज डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए ।

उनी साउदीबाट भर्खरै मात्र आएको र सामान्य ज्वरो संगै हल्का रुघा खोकी देखिएकोले कोशी अस्पताल विराटनगरका चिकित्सकहरुले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसोलेसनमा जान सल्लाह दिएका थिए ।

तर उनी हिजोनै बीपी आउने भनिए पनि आज बिहान आफै श्रीमतीका साथ आईपुगेका थिए । उनको स्वास्थ्य परिक्षण पछि विदेशबाट आएकोले प्रतिष्ठानको आईसोलेसनमा बस्न सुझाव दिएको भए पनि साह्रो गाह्रो भयो भने मात्रै आउने भन्दै घरमै आफै सुरक्षित तरिकाले क्वारेन्टाईनमा बस्ने भन्दै फर्किएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।

डा. मल्लका अनुसार सार्वजानिक सवारीमा नहिडन र सुरक्षित तरिकाले बस्न विरामीलाई सल्लाह दिईएको थियो ।