काँकरभिट्टा : स्थलमार्ग हुँदै पूर्बी नाका झापाको काँकरभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ जना भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण शनिबार भारत फर्काइएको छ ।

प्रहरीका अनुसार भारतको वंगाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार भारत उत्तरदिनातपुर निवासी ३२ वर्षीय दिपेश सरकार र मुण्डा गाउँका २९ वर्षीय समिर मुण्डालाई भारत फर्काइएको हो ।

काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका ५ सय ६१ जनामा स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा उच्च ज्वरो पाइएपछि भारत फर्काएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

विहीवार मात्रै कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरिकलाई अध्यागमन कार्यालय काँकरभिट्टाले प्रवेशाज्ञमा रोक लगाएको थियो । भारतका सिक्किम, दार्जीलिङ लगायतका शहर भ्रमण गरी नेपाल प्रवेश गर्ने क्रममा युक्रेनी नागरिकमा समेत उच्च ज्वरो देखिएपछि भारत फर्काइएको थियो ।