धरान : भारतबाट अबैधरुपमा तस्करी गरेर धरान ल्याउदै गरेको ब्रोइलर कुखुरा बोक्ने सवारी साधन र पक्राउ परेका पाँच जनालाई आज आईतबार सुनसरी भन्सार कार्याल बुझाउने तयारी भएको छ ।

इलाका प्रहरी कार्यालय धरानले हिजो शनिबार विहान कुखुरा सहित पक्राउ गरेको को २ ह १८६३, को २ ह ६६६५ र को २ प १५२४ नम्वरको एउटा मारुती भ्यान सहित विराटनगर-१८ बस्ने ४२ बर्षिय मोहम्मद सलाउदिन, २२ बर्षिय विक्रम मण्डल, २० बर्षिय शम्भु मण्डल, विराटनगर-२२ बस्ने १८ बर्षिय मोहमद तालिम, ३१ बर्षिय हरुन मियालाई सुनसरी भन्सार कार्यालय बुझाईने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन् ।

शनिबार विहान धरान ल्याउदै गरेको ८८ वटा ब्रोईलर कुखुरा सहित टेम्पो र मारुती भेन सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अबैधरुपमा ल्याईएका ८८ वटा ब्रोइलर कुखुरा क्वारेन्टाईनले नष्ट गरीसकेको प्रहरीले बताएको छ ।

नेपाल सरकारले रोक लगाएको ब्रोइलर खुकुरा भारतबाट धमाधम नेपाल भित्रन थालेपछि नेपाली कुखुरा पालक कृषकहरुले आफै त्यस्ता कुखुरा भित्रिन नदिने अभियानमा लागेका छन् ।

नेपाल पोल्ट्री व्यवसायी संघमा आवद्ध धरानका कुखुरा पालक बमबहादुर खड्काले अवैध रुपमा यसरी भारतबाट कुखुरा तथा अण्डा भित्रिदा नेपालका कृषक मारमा मर्का पर्ने बताए ।