धरान : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देशभरमा २ सय ३५ शय्या आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।

उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण आउन नै नदिन सरकारले विशेष तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै मन्त्री ढकालले रोकथामको तयारी गर्दागर्दै पनि यो भाइरसको संक्रमण नेपालमा देखिए उपचारका लागि पनि विशेष तयारी गरेको बताए ।

काठमाडौंमा कोरोनाका बिरामीका लागि तीन वटा अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ । कोरोनाको संक्रमण देखिएका ती तीन अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार हुने व्यवस्था गरिने छ । अन्य बिरामीलाई अन्य अस्पतालमा उपचारको व्यवस्था गर्ने तयारी भएको हो ।

‘हामीले कोरोना भाइरसलाई नेपालमा आउन नै नदिने गरी विशेष तयारी गरेका छौं,’ उनले भने, ‘तर यो तयारी रहँदारहँदै पनि नेपालमा संक्रमण देखिएमा उपचारका लागि तीन वटा अस्पताल र आइसियुको व्यवस्था गरिएको छ।’

तीन वटा अस्पतालको नाम भने अहिले सार्वजनिक गरिएको छैन । उनका अनुसार स्वास्थ्य मन्त्रालयले १ सय ५५ बेडको आइसोलेसन बेड पनि तयारी अवस्थामा राखेको छ ।
उनले विमानस्थलदेखि नेपाल, चीन र भारतका नाकाहरुमा कोरोना जाँचको व्यवस्था गरिएको पनि जानकारी दिए ।