धरान : धरान उपमहानगपालिकाले कोरोनाको जोखिम न्युनिकरण र रोकथामका लागि हेण्ड सेनिटाइजर उत्पादन गरी वडा-वडामा पुगेर वडाबासीलाई वितरण पनि गर्ने भएको छ ।

धरान उपमहानगरपालिकाको  मेयर तिलक राईको कार्यकक्षमा आज भएको छलफल कार्यक्रमले त्यसका लागि हेण्ड सेनिटाईजर उत्पादनलाई गुणस्तरीय बनाई वितरण गर्न र धरानका विभिन्न वडामा पुग्न सहज होस भनेर पाँचवटा क्लष्टरमा विभाजन गरेर कार्यक्रम गर्नका लागि धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाको संयोजकत्वमा एक समिति पनि गठन भएको छ ।

सो समितिको सदस्यहरुमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. नारायणराज भट्टराई, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरानका धिरेन लिम्वू , धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेता रहेका छन् ।

दिनानुदिन कोरोनाको जोखिम बढदै गएको र विश्वलाई आक्रन्त पारिरहेकोे बेलामा धरान उपमहानगरपालिकाले पनि कोरोनाको जोखिमबाट नगरबासीलाई सुरक्षित र सतर्क राख्नका लागि यस्तो कार्यक्रम गर्न लागेको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले बताए ।

यो समितिले केन्द्रिय प्रविधि क्याम्पसको सहकार्यमा बजारमा अभाव भएको सेनिटाईजर आफै उत्पादन गर्ने र समुदायमा पुगेर कोरोनाको बारेमा चेतनामुलक कार्यक्रम गरी सेनिटाईजरको प्रयोग र यसको उत्पादनको प्रकृया सिकाउने छ ।

जस अनुसार यही चैत्र ६ गते विहीबार विहान ८ बजे वडानं. १,२,३,७ र १२ का लागि गीता भवनमा कार्यक्रम गर्ने, सोही दिन वडानं. ४,५,६ र १५ का लागि दिउसो १ बजे धरान १५ छथरे समाजमा कार्यक्रम गर्ने, सोही दिन साढे दुइ बजे धरानका होटल व्यावसायीहरुसंग पनि कार्यक्रम गर्ने बताईएको छ ।

यसैगरी चैत्र ७ शुक्रबार विहान ८ बजे वडानं. १३, १४ र १६ का लागि केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारमा कार्यक्रम गर्ने, सोही दिन १ बजे वडानं. ११, १७, १८ र २० का लागि ज्ञानोदय माविमा कार्यक्रम गर्ने, सोही दिन दिउसो साढे २ बजे वडानं. १९,८,१० र ९ का लागि गोर्खा डिपाटमेण्ट स्टोरमा कार्यक्रम गर्ने बताईएको छ ।

पाँचवटा क्लष्टरमा विभाजन गरिएको  सबै कार्यक्रममा केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारका विद्यार्थीहरुले जनचेतनामुलक कार्यक्रम संचालन गर्नेछन् ।

धरान उपमहानगरपालिकाले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारको सहकार्यमा कोरोना सम्वन्धी जनचेतनामुलक कार्यक्रम गर्न लागेको हो । यही समितिले धरान उपमहानगरपालिकामा आफै मास्क पनि उत्पादन गर्ने योजना रहेको बरिष्ठ प्रशासकिय अधिकृत खतिवडाले बताए ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिका बीच कोरोनाबाट नगरबासीलाई जोगाउने र के कस्तो सावधानी अपनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । त्यही अनुसार धरान उपमहानगरपालिकाले एउटा समिति बनाएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका माईक्रोबायोलोजि विभागका एडिसनल प्रोफेसर तथा कोरोनाको र्यापिड रेस्पोन्स टिमका सदस्य डा. नारायण भट्टराईले बताए ।

यो टिमले धरानमा अरु पनि स्वास्थ्य सम्वन्धी काम गर्ने बताईएको छ । छलफलमा केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारका विद्यार्थीहरु, बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका माईक्रोवायोलोजी विभागका एडिसनल प्रोफेसर डा. रत्ना बरालको पनि उपस्थिति रहेको थियो ।