इटहरी : कोरोना नियन्त्रणमा गर्ने नाममा गलत सूचना छरेको भन्दै प्रदेश एकको सदनमा चर्को आलोचना भएको छ ।

सरकारी अस्पतालहरूमा कोरोनाको लागि आइसुलेसन वार्ड राखेको भनेर प्रचार गरे पनि सामान्य ज्वरो आउँदा समेत रेफर गरेको भन्दै सरकारको विरोध भएको हो ।

प्रदेश सभामा आइतबार र सोमबार चलेको दुवै बैठकमा कोरोना नियन्त्रणको विषय सदनमा उठेको थियो । सोमबार सदन बैठकको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारका मन्त्रीले सदनमा सिँगान पुस्न मात्र सिकाएको आरोप लगाएका हुन् ।

'सभामुख महोदय,म आज कोरोनाको बारेमा बोल्दिन,बोल्यो भने मन्त्री जी फेरी आएर सिँगान पुस्न सिकाउनु हुन्छ' प्रमुख सचेतक कार्कीले भने 'कोसी अस्पतालमा आइसुलेसन वार्ड राखेको भन्नुहुन्छ तर सामान्य ज्वरो आएर जाँदा समेत रेफर भएरै जानु पर्ने स्थिति छ ।'

विपक्षी सांसदहरुमात्र हैन हिजो आइतबारको बैठकमा सत्तारुढ नेकपाको तर्फबाट विशेष समय लिएर बोलेका सांसद गोपालचन्द्र बुढाथोकीले पनि सरकारको आलोचना गरेका थिए । बुढाथोकीले कोरोना महामारी नियन्त्रणमा सरकारको तयारी र निर्देशन फितलो भएको भन्दै आलोचना गरेका छन् ।

सामान्य बिरामीहरूको पनि उपचार गर्नबाट चिकित्सक पन्छिने गरेको गुनासो सांसदहरूले गरेका छन् । सिमानामा स्वास्थ्य चेक जाँच र सुरक्षामा चासो नदिएको सांसदको आरोप छ ।

‘काँकडभिट्टा नाकाबाट दैनिक १२ सयदेखि १५ सयसम्म नागरिकको ओहो र दोहोर हुन्छ, तर सिमानामा स्थापना गरिएको हेल्थ डेस्कमा १६ घण्टासम्म दुई जना स्वास्थ्यकर्मीलाई थर्मल गन दिएर खटाइएको छ’, आइतबारको सदन बैठकमा नेकपा सांसद बुढाथोकीले भने थिए, ‘यसरी रोक्न सकिन्छ कोरोनाको सङ्क्रमण ? ’

अस्पतालमा चिकित्सकले रुघाखोकी र ज्वरोका बिरामीलाई डरको कारण माथिल्लो अस्पतालमा रेफर गरेको सांसदहरूले आरोप लगाएका थिए । नाका नजिकैका अस्पतालमा आइसोलेसनको नभएको, सिमानामा एम्बुलेन्स तयारी अवस्थामा नराखिएको दुखेसो सांसदहरूको थियो ।