इटहरी : राष्ट्रिय गौरवको कोसी कोरिडोर २२० किभिए लाइन तिनजुरेको लालीगुराँस फुल्ने स्थानबाटै ल्याएको भन्दै सदन र सडकमा विरोध सुरु भएको छ । विकासको नाममा जैविक विविधता मास्न खोजेको भन्दै प्रदेश सभामा विरोध भएको भोलिपल्टै तेह्रथुममा समेत सडकमा आन्दोलन सुरु भएको हो ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले आइतबारको प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएको भोलिपल्टै अर्थात् सोमबार तेह्रथुमको लालिगुरास नगरपालिकामा विरोध भएको हो । विधुत प्रसारण लाइन टिएमजे क्षेत्रबाटै ल्याएर जैविक विविधता मास्न खोजेको बारे तुम्बाहाम्फेले सो कदम सच्याउन आग्रह गरेकी थिइन् ।

धरानको विष्णुपादुका क्षेत्रमा केही महिना अगाडि २२० केभिए कोसी कोरिडोर प्रसारण लाइनमा विवाद उत्पन्न भएको थियो । सो विवाद मुख्यमन्त्री शेरधन राई र विधुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङकै विशेष पहलमा साम्य भएपछि अहिले भने पुन तेह्रथुममा विवाद आएको हो ।

 Terathum-Birod-2- 1

लालीगुराँसको टुटेबाट ताप्लेजुङको ढुंगेसाँघुसम्म ८० किलोमिटर प्रसारण लाइनको काम हुँदा सो क्षेत्र भित्र पर्ने ११ वटा सामुदायिक वन क्षेत्रको १७ हजार २ सय ६९ वटा रुखहरू काटिन्छ । योजनाले टिएमजे क्षेत्रको भने तेह्रथुमका चार वटा, सङ्खुवासभाका चार वटा र ताप्लेजुङको एक गरी ९ वटा सामुदायिक वनको रुख काट्ने छ ।

तीनजुरे मिल्के जलजले क्षेत्रको वनमा २८ प्रजातिका गुराँस फुल्ने कारण विश्वभर चर्चित छ । लालीगुराँसको राजधानी समेत भने चिनिने टिएमजे क्षेत्रलाई चिनिन्छ ।

प्रारम्भिक वातावरण परीक्षण गर्दा सिमसार लगायतका जैविक महत्त्वको ठाउँबाट डोजर चलाउन नपाइने व्यवस्था भए पनि वन मास्ने तरिकाले डोजर काम भइरहेको तुम्बाहाम्फेले सदनमा जानकारी गराएकी थिइन् ।