धरान : जेसीजले धरान उपमहानगरका मेयर तिलक राईलाई सम्मान–पत्रले सम्मानित गरिएको छ ।

धरान जेसीज वर्ष २०२० का नवनिर्वा्चित पदाधिकारीले धरान उपमहानगरका प्रमुख–उपप्रमुखसँग सोमबार शिष्टाचार भेटको क्रममा गत मङ्सिर १४ गतेको उपनिर्वाचनमा निर्वा्चित बनेका मेयरलाई बधाई ज्ञापन गर्दै सम्मान–पत्रले सम्मानित गरेको हो ।

जेसीज वर्ष २०२० का अध्यक्ष दीपेन्द्र निरौलाले सम्मान–पत्र हस्तान्तरण गरे । जेसीजले २०२० का लागि तयार पारेको वार्षिक कार्यक्रमको सूचीपत्रसमेत मेयरलाई हस्तान्तरण गरे ।

जेसीजले सामाजिक तथा नेतृत्व विकासका कार्यक्रमहरू गर्दै आएकाले त्यस्ता कार्यक्रमहरूका लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष निरौलाले बताए ।

त्यस्तै जेसीजले हरेक वर्ष गर्दै आएको मिस एसईईका विजेतालाई नगरले सद्भावना दूतका रूपमा काम गराउन सके फलदायी हुने पनि निरौलाले बताए ।

धरान उपमहानगरका मेयर तिलक राईले युवाहरूको नेतृत्व विकास लगायतमा जेसीजले गर्दै आएको कामको प्रशंसा गर्दै सूचीपत्रका विषयमा विषयगत छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको बताए ।

धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जेसीजले विधिको शासनलाई आत्मसात गरेको पाउँदा त्यसबाट राजनीतिककर्मीहरूले पनि सिकेमा राष्ट्रका लागि हित हुने बताइन् ।

शिष्टाचार भेटमा वर्ष २०२० का कार्यकारिणी समितिसहित धरान जेसीजका पूर्वअध्यक्षहरू पनि सहभागी बनेका थिए ।