काठमाडौं  : कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ । नेपालमा आयात हुने पेट्रोलियममध्ये ६० प्रतिशत डिजेल हुन्छ, जो सार्वजनिक यातायात र उत्पादनमूलक उद्योगमा खपत हुन्छ ।

पछिल्लो पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ६८ प्रतिशत घटेको छ । 

इन्डियन आयल कार्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पनि सोमबार पेट्रोलमा ७.७२ र डिजेलमा ७.३५ रुपैयाँ प्रतिलिटर घटाएर पठाएको छ । यसअघि आइओसीले पेट्रोल ५२.४९ रुपैयाँ र डिजेल ५७.०७ रुपैयाँ प्रतिलिटरका दरले पठाउँदै आएकोमा सोमबार पेट्रोल ४४.७६ र डिजेल ४९.७२ प्रतिलिटरका दरले पठाएको छ ।

सोमबारै मूल्य समायोजन गर्दैे निगमले नेपाली उपभोक्तालाई पेट्रोल र डिजेलमा जम्मा दुई-दुई रुपैयाँ मात्रै घटाएको छ । नेपालमा जनवरीमा पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ रहेकोमा अब १ सय ६ र डिजेल-मट्टीतेल १ सय रुपैयाँ रहेकोमा अब ९५ रुपैयाँ कायम भएको छ । जब कि यसबीचमा अन्तर्राष्ट्रिय मूल्य आधा घटेको छ । आफैँ इन्धनको भाउ तोक्न पाउने स्वचालित मूल्य प्रणालीलाई निगमले उपभोक्ता शोषण गर्ने हतियार बनाएको छ । ०७१ मा यो प्रणाली लागू गर्दा निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन हुने र अन्तर्राष्ट्रिय भाउअनुसार नै घटबढ हुने घोषणा गरेको थियो । तर, समायोजनमा उपभोक्तालाई कहिल्यै न्याय दिएको छैन ।