धरान : रुखो, डाडापाखामा पनि मजाले रोपेर उत्पादन गर्न सकिने अम्रिसो कुचोका किसानलाई भने यो बर्ष निकै राम्रो फाईदा पुगेको छ ।

यस भन्दा अघिका बर्षहरुमा अम्रिसो कुचोको मुल्य ओरालो लागि रहेको बेलामा भने यो वर्ष अम्रिसो कुचोको मुल्य बढेको छ । यसरी कुचोको मुल्य बढ्दा कृर्षकलाई पनि राम्रो फाईदा पुगेको कुचो किसानहरु बताउछन् ।

पुर्वी पहाडी जिल्लाहरुबाट आउने कुचो धरानको कृषि उपज बजार स्थलबाट मात्रै अहिले सम्म १८ करोड बरावरको कारोबार भएको छ । कृषि उपज बजार स्थल धरानले दिएको जानकारी अनुसार गत चालु आ.ब.०७५/०७६ मा ४ हजार ३ सय ९८ मेट्रिक टन कारोबार भएको छ । अघिल्लो बर्ष ३०,३५ रुपैया प्रतिकेजी रहेको कुचोको भाउ यसपटक भने प्रतिकेजी ७५ रुपैयाले थोक कारोवार भईरहेको कृषि उपज बजार स्थलका व्यावस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार ४ बर्ष अघि आर्थिक बर्ष ०७२/०७३ मा भने प्रति केजी १४० रुपैया सम्म कुचोको मुल्य पूगेको थियो । धरानको कृषि उपज बजारमा मूख्य गरी कोशी पहाडी जिल्लाहरु सुनसरीको बिष्णुपादुका, मोरङको उत्तरी क्षेत्र, धनकुटा, तेह्थूम, भोजपुर, संखुवासभा, खोटाङ ,उदयपुर, पाँचथरबाट अम्रिसो कुचो आउने गर्छ ।Kucho-1

यस बर्ष माघ महिनामै प्रति केजी ६५ देखि ८० सम्म भएकोले अम्रिसो कुचोको मुल्य बढेको कुचो व्यापारी दिपक शाह बताउछन् । गएको माघ महिनामा ८० रुपैया प्रतिकेजी सम्ममा पनि कुचो खरिद गरेको शाहको भनाई छ ।

यस बर्ष कूचो ४६०० मेट्रिक टन करिब ३१ करोड बरावरको कारोवार हूने आकलन कृषि उपज बजार स्थलले गरेको छ । कृषि उपज बजार स्थल धरान आईपुगेको कुचो नेपालका विभिन्न शहरसंगै ९० प्रतिशत भारत निर्यात हूने गरेको बताईन्छ ।