धरान : धरान उपमहानगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरूमा पठनपाठन, बिदा, परीक्षा र अतिरिक्त क्रियाकलाप लगायतमा एकरूपता कायम गर्न शैक्षिक क्यालेन्डर बनाईदैछ ।

धरानका सामुदायिक विद्यालयहरूले केही वर्ष देखिनै शैक्षिक क्यालेन्डर बनाउँदै आएका थिए । तर यस पटक अझ सुधार गरेर धरानका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र सामुदायिक विद्यालयहरूमा पठनपाठन, परीक्षा र बिदाहरू पनि एकै दिनमा पर्ने गरी धरान उपमहानगरपालिकामा शैक्षिक क्यालेन्डर बनाइने शैक्षिक क्यालेन्डर निर्माण समितिका सदस्य तथा धरान उपमहानगरपालिका स्तरीय सामुदायिक विद्यालयको परीक्षा समितिका संयोजक इन्द्र मोहन झाले बताए ।

शैक्षिक क्यालेन्डर बनाउँदा धरान उपमहानगरपालिका भरी रहेका सामुदायिक विद्यालयहरूमा कुन महिनामा कुन पाठ पढाउने ? कुन दिन बिदा पर्छ ? कुन समयमा अतिरिक्त क्रियाकलाप विद्यार्थीहरूलाई गराउने ? अनि कक्षा १ देखि १२ कक्षा सम्म धरान उपमहानगर भरी एकै पटक परीक्षा सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण विषय वस्तुहरू शैक्षिक क्यालेन्डरमा उल्लेख गर्ने भएकोले यो क्यालेन्डर अत्यन्तै महत्त्वपूर्ण सामुदायिक विद्यालयको लागि हुने बताइएको छ ।

सामुदायिक विद्यालयहरूको शैक्षिक क्यालेन्डरमा निजी विद्यालयहरूको शैक्षिक कार्यक्रमहरू पनि समेट्ने की भन्ने बारेमा पनि कुरा उठेको बताइएको छ । यसबारेमा भने निर्णय भई नसकेको शैक्षिक क्यालेन्डर निर्माण समितिका सदस्य तथा धरान उपमहानगरपालिका स्तरीय सामुदायिक विद्यालयको परीक्षा समितिका संयोजक इन्द्र मोहन झाले बताए ।

धरान उपमहानगरपालिका भित्र ४९ वटा सामुदायिक विद्यालय रहेका छन् । जस मध्ये ११ वटा उच्च मावि, १७ वटा मावि, २ वटा निमावि र १९ वटा प्राथमिक विद्यालय रहेका छन् । ती सबै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कायम गर्न धरान उपमहानगरपालिका भरीका सामुदायिक विद्यालयहरूलाई समेटेर शैक्षिक क्यालेन्डर प्रकाशन गर्न मङ्गलवार धरान उपमहानगरपालिकामा बैठक बसेको थियो ।