धरान : विश्वव्यापी रूपमा फैलिरहेको (कोभिड १९) कोरोना भाइरसको कारण भारतले आफ्नो सीमा नाका बन्द गरेको कुरालाई लिएर नेपालमा पेट्रोलियम पदार्थ अभाव हुने जस्ता हल्ला, हल्ला मात्रै भएको पेट्रोलियम डिलर्स एसोसिएसन कोसीले जनाएको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसन कोसीले हल्ला गरिए जस्तो नाका सीमामा पेट्रोलियम पदार्थ आयात बन्द नभएको र पेट्रोलियम पदार्थ नियमित रूपमा आइरहेको भन्दै आज मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरेको छ । सीमा नाका बन्द भए पछि पेट्रोलियम पदार्थ पनि आयात नहुने हल्लासँगै उपभोक्ताहरूले पेट्रोलियम पदार्थ भण्डारण गर्न थाले पछि पेट्रोलियम डिलर्स एसोसिएसनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको हो ।

एसोसिएसनका अनुसार प्रदेश नं. १ मा भारतको बरौनी डिपोबाट जोगवनी नाका, सिलगुडी डिपोबाट काँकडभिट्टा नाका, र अमलेखगन्ज बाराबाट पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको जनाउँदै यी नाकाहरू हल्ला गरिएजस्तो बन्द नभएकोले आपूर्तिमा कुनै समस्या नभएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

एसोसिएसनले सीमा बन्द हुने भन्ने अनावश्यक हल्लाको पछि नलाग्न उपभोत्ताहरुलाई आग्रह गर्दे आवश्यकता भन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण नगर्न पनि आग्रह गरेको छ । यस्तो गतिविधिले समग्र बजार प्रभावित हुन पुगेको एसोसिएसनले जनाएको छ ।

‘पेट्रोलियम पदार्थ आउने कार्य नियमित रूपमा भइरहेको हुँदा वितरण व्यवस्थामा कुनै असर नपर्ने जानकारी गराउँदै आधारहीन हल्लाको पछाडि नगई आवश्यक मात्राको पदार्थ मात्र खरिद गरी दिन हुन आम उपभोक्ता वर्गमा हार्दिक अनुरोध गर्दैछौं,’विज्ञप्तिमा भनिएको छ ।