इटहरी : सङ्घीयता आउनु भन्दा अगाडी सिराहा जिल्लामा अञ्चल यातायात कार्यालय सगरमाथा थियो । सिराहाको सो कार्यालय बाट सगरमाथा अञ्चलका सोलुखुम्बु,ओखलढुङ्गा,खोटाङ,उदयपुर र सप्तरी जिल्लाको सवारी सवारी चालक अनुमति पत्र समेत दिइन्थ्यो ।

प्रादेशिक संरचना बन्दा यातायातको अधिकार प्रदेश सरकार अन्तर्गत आयो । ४ ओटा जिल्ला अहिले एक नम्बर प्रदेश भित्र पर्दछन् । तर मूल कार्यालय दुइ नम्बर प्रदेशको सिराहा जिल्लामा भएकाले अहिले प्रदेश एकका ४ जिल्लाका नागरिकहरू लाइसेन्स लिन इटहरी र बिर्तामोड सम्म पुग्नु पर्दछ ।

सङ्घीयता आउनु भन्दा अगाडी सहज रूपमा पाइने लाइसेन्स प्रादेशिक संरचना बन्दा थप झन्झटिलो बनेको भन्दै प्रदेश सभामा सरकारको ध्यानाकर्षण भएको छ । बुधवार को प्रदेशसभामा उदयपुर सांसद विमल कार्कीले सोलुखुम्बु,ओखलढुङ्गा,खोटाङ र उदयपुरका जनतालाई उदयपुरबाटै लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाउन गरेका थिए ।

'सभामुख महोदय सङ्घीयता अधिकार प्रत्यायोजन गर्न मात्र बनेको हैन' सांसद कार्कीले भने 'सेवा र सुविधा विकेन्द्रीकरण गर्न समेत गरिएको हो,मुलुक सङ्घीयतामा गएपछि पनि बिर्तामोड र इटहरीमा मात्र आएर लाइसेन्स लिन आउनु पर्ने अवस्था छ।'

सभामुख मार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु यातायात सेवा कार्यालय उदयपुरबाट लाइसेन्स वितरणको व्यवस्था होस् ।'

उदयपुरमा प्रदेश सरकारले यातायात सेवा कार्यालय खोले पनि सवारी लाइसेन्स भने वितरण गर्ने गरेको छैन । साबिकमा सङ्घीय सरकार मातहत नै रहेका कार्यालयहरूमा जनशक्ति भएको देखाउँदै इटहरी र बिर्तामोडमा रहेको कार्यालयले मात्र लाइसेन्स वितरण गर्दै आएको छन् ।