पथरी : सांसद विकास कोष वाट विनियोजित रकम वडा अध्यक्षले अन्यत्रै विनियोजन गरेपछि पथरीशनिश्चरे ३ मा विवाद उत्पन्न भएको छ । आक्रोशित स्थानीयवासीले मङ्गलवार वडा कार्यालय तालाबन्दीको प्रयास गरेका थिए ।

वडाको जनता मावि उत्तरवाट पश्चिम जाने बाटो स्तर उन्नति तथा बाटो ग्राभेल कार्यकालागी प्रदेश सांसद सुर्यमाराज राईले १० लाख रुपैयाँ विनियोजन गरेका थिए । त्यस्तै सोही मार्गका लागी सङ्घीय सांसदभानुभक्त ढकालले पनि १० लाख विनियोजन गरेका थिए ।

राईले सो बाटो स्तर उन्नति तथा ग्राभेलकालागी रकम विनियोजन गरे सँगै नगरबाट बाटो ग्राभेलका लागी परिपत्र जारी भए पनि वडा अध्यक्ष डम्बर बहादुर चेम्जोङ्गले सो योजनालाई अन्य क्षेत्रमा योजना परिवर्तन गरे पछि स्थानीयवासी आन्दोलित भएका हुन् ।

पुस ७ गते प्रदेश सांसद विकाश कोषबाट वडा नम्बर ३ मा रहेको जनता माविबाट उत्तर तर्फ जाने बाटो स्तरोन्नतिका लागि १० लाख रुपैयाँको बजेट विनियोजित भएको थियो । त्यस्तै सोही समयमा सङ्घीय ससदवाट पनि रकम विनियोजन भएको थियो ।

स्थानीय जनताले दुवै रकम सोही मार्गमा कार्यान्वयनका लागि पटक-पटक वडा सँग माग गरे पनि वडा अध्यक्षले कुनै वास्ता नगरेको स्थानीय निर्मला चौहानको भनाई छ ।

वडाध्यक्षले आफ्नो कार्यकर्ताको स्वार्थ अनुसार  ३ महिना पछि एक्कासि योजना परिवर्तन गरेको स्थानीयवासीको आरोप छ ।

प्रदेश सांसदले विनियोजन गरे पनि सो मार्ग निर्माण गर्न रकम अपुग भएको र सङ्घीय ससदको रकम पनि आवश्यक पर्ने स्थानीयवासीको भनाइ छ । सो बाटोको योजनालाई वडा अध्यक्ष चेम्जोङ्गले अन्य तिर स्थानान्तरण गरी वडाकै अर्का भागमा पुर्याएको स्थानीय नवराज तुम्वापो बताउँछन् । तुम्वापोका अनुसार वडाध्यक्ष चेम्जोङ्गले अर्का स्थानमा आफै उपभोक्ता समिति गठन गरेका थिए ।