इटहरी : इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि घर निर्माण कार्य सुरु गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहर बस्ती सामृुहिक आवास कार्यक्रमको लागि बन्ने भवनहरूको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले मुसहर बस्ती सामूहिक आवास निर्माण आयोजना अन्तर्गत बन्ने भवनहरूको शिलान्यास गरेका छन् । चालु आर्थिक वर्षमा नौ वटा घर निर्माण हुने र पचास वटा घरहरू बन्ने गरी जग्गा खोजी र नक्सांकन गरिएको उप महानगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा प्रमुख चौधरीले निर्माण कम्पनीलाई इमानदारीका साथ काम गर्न सुझाव दिएका छन् । इटहरीमा गुणस्तर र समयमा कुनै सम्झौता नहुने बताउँदै प्रमुख चौधरीले इटहरीमा कुनै पनि कमिसन दिनु नपर्ने भएकाले त्यो रकमले अझ गुणस्तरीय निर्माण सामग्री लगाउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले सो ठाउँमा ५० घर रहेको व्यवस्थित बस्ती निर्माण गरिने बताइन । त्यहाँ राखिने मुसहर समुदायको छनौट निश्चित विधि बनाएर गरिने बताइन । वडा नम्बर १७ का वडाध्यक्ष भगवानलाल शाहले आवास जनताको हक भएकाले सडक निर्माणका क्रममा विस्थापित नागरिकका लागि उपमहानगरले आवासको व्यवस्था गर्न लागेको बताए ।
तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत सङ्घीय सरकारको ७० लाख तथा उपमहानगरपालिकाको ७ लाख लगानीमा यस आर्थिक वर्षमा ९ घरहरू विपन्न मुसहर नागरिकको लागी बन्ने इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । त्यहाँ भित्रीवाटोहरु,चिल्डेन पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ पनि निर्माण गरिने छ । यही आर्थिक वर्षमा निर्माण सक्ने गरी काम सुरु गरिएको छ ।
डेढ बिघा ऐलानी जग्गामा वहुवर्षे योजनाको रूपमा ५० घरहरू निर्माण गर्ने उपमहानगरको योजना छ ।