धरान : तपाई कुनै काम विषेशले  ईलाका प्रहरी कार्यालय धरान जादै हुनुहुन्छ ? यदी जादै हुनुहुन्छ भने अब तपाईले पहिले ईलाका प्रहरी कार्यालयको अगडी प्रबेशद्वारमै राखिएको हात धुने ठाउमा हात धुएर मात्रै भित्र प्रबेश गर्न पाउनुहुन्छ ।

विश्वमा महामारीकोरुपमा देखा परेको (कोभिड १९) कोरोना भाईरसको जोखिम बढदै गएपछि इलाका प्रहरी कार्यालय धरानले पनि हात धुएर मात्रै भित्र पस्न भन्दै यस्तो अभियान विहिबार देखि सुरु गरेको हो । विभिन्न समस्या लिएर इलाका प्रहरी कार्यालय धरान आउने सेवाग्राहीहरुलाई कोरोनाबाट सचेत र सतर्क गराउने अभियान अनुसार प्रहरीले धरानमा यस्तो अभियानको थलानी गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

जो कोही इलाका प्रहरी कार्यालय आउदा कोरोना भाईरसबाट कसरी जोगिने भन्ने बारेमा हात धुने स्थानमा राखिएको जानकारीमुलक पर्चा हेरेर पढेर पनि सर्वसाधरणले थाहा पाउने प्रमुख न्यौपानेको दावी छ ।

प्रहरी कार्यालय परिसर भित्र प्रबेश गर्दा मजाले सावुन पानीले हात धुएर मात्रै भित्र पस्दा सेवाग्रही, प्रहरी सवै कोरोनाको जोखिमबाट अलिकति भए पनि सचेत हुनेछन् । इलाका प्रहरी कार्यालयबाट अदालतमा लगिएका थुनुवाहरुलाई पनि थुनुवा कोठा पुर्याउदा अनिवार्य बाहिर सावुन पानीले हात धुन लगाएर मात्रै भित्र लगिने छ ।
इलाका प्रहरी कार्यालय धरानको मातहतमा रहेका सवै प्रहरी कार्यालयहरुमा सावुन पानीले हात धुएर मात्रै प्रहरी कार्यालयमा प्रबेश गर्ने व्यावस्था मिलाईने डिएसपी न्यौपानेले बताएका छन् ।

धरान भरी इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, प्रहरी चौकी पानमारा, ११ वटा अस्थाई प्रहरी पोष्टमा सावुन पानीले हात धुएर मात्रै भित्र प्रबेश गर्न पाईने नियम बनाईएको छ । विहिबार आज देखि सुरु भएको प्रहरीको यो अभियान भोली सम्ममा सवै ठाउमा लागु हुने डिएसपी न्यौपानेले बताए ।