विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाली सेनाले २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । प्रदेश १ सरकारको निर्णय अनुसार कोरोना भाइरसको सङ्क्रमणको शङ्का लागेकाहरूलाई राख्न सेनाले क्वारेन्टाइन निर्माण गरिएको हो ।

प्रदेश सरकारले यहीँ फागुन २९ गते मन्त्रिपरिषद् बैठकबाटै कोरोना भाइरसको सङ्क्रमण विरुद्धको कार्य योजनामा मिक्लाजुङ र सुनसरीको श्रीलङ्का टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ ५ टाँडीमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो । सेनाले १०० वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको नेपाली सेनाका २ नम्बर बाहिनी पति यामप्रसाद ढाकाले जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाको टोलीले दुई दिन लगाएर क्वारेन्टाइन निर्माण गरेको हो । तत्कालकोलागि २ सय बेड रहने बनाएको र आवश्यकता अनुसार थप गर्न सकिने उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार क्वारेन्टाइन स्थल बनाएको जानकारी दिँदै सेनाले त्यसमा प्राविधिक र अन्य जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने बताएको छ ।  यो संगै झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहने गरी क्वारेन्टाइन बनाएको पूर्वी पृतना मुख्यालयले जनाएको छ ।