धरान : धरान उपमहानगरपालिकाले आज शुक्रवार देखि धरान उपमहानगरको १२ स्थानमा हेल्प डेस्क (स्वास्थ्य सहायता कक्षा) राख्ने भएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमबाट नगरवासीलाई जोगाउनका लागि धरान उपमहानगरपालिका, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको संयुक्त पहलमा हेण्ड सेनिटाईजर उत्पादन गरी हिजो देखि धरान नगरवासीलाई वितरण सुरु गरेको छ ।

पाँच वटा क्लष्टरमा विभाजन गरेर हेण्ड सेनिटाईजर कसरी बनाउने ? कोरोनाबाट जोगिन के गर्नुपर्छ ? जस्ता जानकारी दिँदै वडा वडामा पुगेर यो अभियान चलाइरहेको बेला धरान उपमहानगरपालिकाले थप कार्यक्रम हेल्प डेस्क अगाडी ल्याएको हो । हेल्प डेस्कमा स्वास्थ्य सामाग्री, हात धुनका लागि पानी र साबुन, सामान्य औषधी, शरीरको तापक्रम नाप्ने थर्ममिटर, कोरोना सम्बन्धी जनचेतनामूलक पर्चा, पाम्प्लेट राखिनुका साथै स्वास्थ्य जनचेतना पनि दिइनेछ ।

हेल्प डेस्क (स्वास्थ्य सहायता कक्षा) कहाँ कहाँ रहन्छन् ?
धरान उपमहानगरपालिकाले आज देखि सुरु गर्ने हेल्थ डेस्क धरानका निम्न स्थानहरूमा रहने छ ।
१. जीरोप्वाईन्ट धरान १३
२. छाता चौक
३. भानु चौक
४. रेल्वे चौक
५. १५ नम्बर वडा कार्यालय अगाडीको प्रहरी पोस्ट
६. धरान उपमहानगरपालिकाको गेट
७. देउराली चौक धरान ५
८. स्कुल डाँडा पानबारी धरान ६
९. इलाका प्रहरी कार्यालय धरान १९
१०. इलाका प्रशासन कार्यालय धरान १३
११. मङ्गलवारे चौक
१२. मालपोत कार्यालय धरान

हेल्प डेस्क (स्वास्थ्य सहायता कक्षा) मा हेल्थ एसिस्टेन्ट, सि.अहेब अधिकृत, अहेब सरहको स्वास्थ्यकर्मी रहने धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । हेल्प डेस्कमा केन्द्रीय प्रविधि क्याम्पस धरान, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको सहयोग रहेको छ । यो हेल्थ डेस्क कहिले सम्म रहने भन्ने बारेमा अहिले भन्न सकिने अवस्था छैन । हेल्प डेस्क हरेक बिहान १० बजे देखि २ बजे सम्म रहने छ ।