नयाँ दिल्ली - निर्भया सामूहिक बलात्कार प्रकरणका चारैजना दोषीलाई मृत्युदण्ड दिइएको छ। घटना भएको ७ वर्ष ३ महिनापछि भारतको राजधानी दिल्लीको तिहाड जेलमा बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार साढे ५ बजे मृत्युदण्ड दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

फाँसी दिइएपछि निर्भयाका बुबाले देशमा महिलाका मुद्दामा छिटो फैसला हुने कानुन आवश्यक परेको बताएका थिए।

सन् २०१२ को डिसेम्बर १६ मा भारतको राजधानी दिल्लीमा ६ जना व्यक्तिले आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षकी मेडिकल छात्रालाई बसमा बलात्कार तथा निर्मम कुटपिट गरी गुडिरहेको बसबाट बाहिर फालेका थिए । बलात्कारपछि उपचारको क्रममा उनको ज्यान गएको थियो।