झापा- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ भने नेपाललाई पनि उच्च जोखिममा राखेको छ । यसरी कोरोनाको सङ्क्रमण फैलिइरहँदा नेपाली नागरिक पनि यति बेला त्रासमा छन् ।

तर अझै पनि पूर्ण सतर्कता भने अपनाएको पाइँदैन । विशेष गरी सरकारले नै विभिन्न विषयमा तयारी थालिरहँदा सार्वजनिक यातायातका साधनमा भने जोखिम उच्च देखिएको छ । छोटो दुरीमा चल्ने सार्वजनिक सवारीका साधनमा कुनै पनि स्वास्थ्य सुरक्षाको उपाय अपनाइएको पाइँदैन ।

हुन त नागरिकको बाध्यताकारी यात्रा हो सार्वजनिक सवारी साधन । यात्रुको ठुलो चाप हुने ठाउँका रूपमा पनि लिइन्छ सार्वजनिक यातायातलाई । सार्वजनिक सवारी साधनभित्र कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन्छ नै । निजी गाडी नभएकाहरूले सार्वजनिक सवारी प्रयोग गर्नुको विकल्प पनि छैन । सार्वजनिक सवारीलाई सुरक्षित राख्न सरकारले पहल गर्नुपर्ने माग उपभोक्ताकर्मीले गर्दै आएका छन् ।

तर, अहिलेसम्म यातायात कम्पनीहरूले खर्च हुने भन्दै सतर्कताको ठोस प्रयास गरेका छैनन् । कदाचित कोरोना भित्रिए यो लापरबाहीले भाइरस फैलने दर अनियन्त्रित हुने जोखिम रहेको यात्रु किशोर रिजाल बताउँछन् ।

कोरोना सङ्क्रमण बारे जे-जति कुरा सुने पनि सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरूलाई कोरोनाको डरले छुन सकेको छैन । अझ त्यसमापनि सवारी धनीहरूले नै यस विषयमा गम्भीर नबन्दा निकट दिनमै आई पर्ने समस्याले भयावह रूप लिन सक्ने देखिन्छ । सवारी चालकहरूका अनुसार आफूहरूले सवारी धनीलाई भन्दा पनि अटेर गरिरहेको आरोप लगाई रहेका छन् । काँकडभिट्टाबाट यात्रु लिएर दमक आइपुगेका चालक नारायण प्रसाद सापकोटाले आफ्ना गाडीका धनीलाई बारम्बार भन्दा पनि नमानेको गुनासो गर्छन् ।

यता दमक ट्राफिक प्रमुख यज्ञराज शर्मा आफूहरूले पटक पटक सवारीका चालकहरूलाई उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सुझाव दिई रहेको बताउँछन् । तर पनि सार्वजनिक सवारीका साधनमा न त सेनिटाईजर नै राखिएको छ न त यात्रुहरूलाई मास्क लगाएर मात्र यात्रा यरौं भन्ने सन्देश नै दिई रहेको छ । यस्तो अवस्थामा कदम कदाचित कोरोनाको सङ्क्रमण फैलिहाल्यो भने सबैभन्दा धेरै खतरा यही हुने चिकित्सकहरू बताउँछन् ।