झापा : शारीरिक रूपमा अशक्त बिर्तामोडका दीपेश योञ्जन मानसिक रूपले दरिलो छन् । शारीरिक अप्ठ्यारोपनलाई चुनौती दिँदै सोर्मा व्यवसाय सुरु गरेका योञ्जन बिर्तामोडका लागि उदाहरण पात्र बनेका छन् ।

२०७३ सालको दसैँ ताका मोटरसाइकल दुर्घटनामा परेका योञ्जन अहिले बैसाखीको सहारामा छन् । दुर्घटनामा परेर १ महिनाको हस्पिटल बसाइपछि वाँया खुट्टाको हड्डी भाँचिएर योञ्जन घरमै आराम गर्न थाले ।

शारीरिक अवस्था कमजोर भए पनि परिवारको साथ पाएपछि यति वेला आफ्नो व्यवसायमा फड्को मार्दै आएका छन् । बिर्तामोड स्थित शनिश्चरे रोडबाट नेपाल बैक जाने बाटोमा उनको सोर्मा व्यवसाय छ।

गत माघ महिनामा सोर्मा स्टेसनको नामबाट सुरु गरेको व्यवसाय यति वेला झापा जिल्लामा नमुना वनेको छ । सेन्डविच बनाउने सोचका साथ सोर्माको व्यापार सुरु गरेका हुन् ।

सोर्मा विशेषतः अरबी मुलुकमा पाइने लोकप्रिय खाना अर्थात् नास्ताको रूपमा लिने गरिन्छ । यही अरेबीयन खाने कुरा नयाँ सोचका साथ बिर्तामोडमा भित्र्याएका दीपेश दुर्घटनामा पर्नु अघि पाँच वर्ष खाडी मुलुक दुबईको बसाइ पछि नेपाल फर्केका थिए तर दुर्घटनामा परेपछि भने नेपालमै बसेर केही गर्ने सोचका साथ सोर्माको व्यापार सञ्चालन गरेका हुन ।

होटेल सम्बन्धी केही ज्ञान भएकाले सुरु गरेको व्यवसायमा आवश्यक सामाग्री भारतवाट ल्याउँदा केही झन्झट भएको बताउँदै परिवारको राम्रो सहयोग पाएको उनको भनाई छ ।

सानो ठाउँ भाडामा लिएर सुरु गरेको विदेशी परिकार सोर्मा खान दैनिक १० जना रेगुलर ग्राहक छन् । व्यवसायमा, परिवारमा श्रीमतीवाट निरन्तर सहयोग पाइरहेका दीपेशले झापामै नमुना व्यवसाय सुरु गर्दै जीवन यापनमा सहजता ल्याउने प्रयासमा जुटेका छन् ।

सहकारी वाट २ लाख ऋण लिएर व्यवसाय सुरु गरेका दीपेश भन्छन्, “श्रीमतीको सहयोग नभएको भए व्यावसायिक ढङ्गले अगाडि बढ्न गाह्रो थियो ।” 

स्वास्थ्यका लागि फाइदाजनक सोर्मा निर्माणका लागि चना, दही, आलु, कुखुराको मासु, रोटी लगायतका सामाग्री प्रयोग हुने गरेको छ । शारिरिक दुर्बलता भए पनि सहज जिवनयापनका लागि दीपेश योञ्जनले प्रस्तुत गरेको उदाहरण जिल्लामै नमुना वनेको छ ।