झापा : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट बच्न झापा कारागार भद्रपुरमा उच्च सतर्कता अपनाइएको छ ।

झापा कारागार प्रशासनले कारागार भित्र रहेका कैद बन्दीलाई चाहिने कुनै पनि वस्तु बिना क्वारेन्टाइन प्रवेश गर्न दिएको छैन ।  यतिसम्म कि कैदीका आफन्तले ल्याएको नगद पैसा समेत बाहिर बनाइएको क्वारेन्टाइनमा पाँच दिनसम्म राख्नु पर्ने हुन्छ ।

क्वारेन्टाइनमा पाँच दिनसम्म राखे पश्चात् मात्र कैदीले आफ्नो पैसा पाउने व्यवस्था गरिएको झापा कारागारका जलेर राजेन्द्र निरौलाले जानकारी दिए ।

कारागारमा पुर्पक्षका लागि आउने नयाँ कैदी बन्दीलाई छुट्टै स्वास्थ्य परीक्षण गरेर मात्र भित्र प्रवेश गर्न दिएको बताउँदै उहाँले उच्च ज्वरो र रुघाखोकी लाग्ने कैदीलाई उपचारका लागि अस्पताल पठाइरहेका समेत जानकारी दिए ।

कैदी बन्दीलाई भेट्न जाने आफन्त र वकिललाई कारागारको गेटमै साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गर्न दिइरहेको कारागारका प्रहरी प्रमुख उदय शमशेर रानाले जानकारी दिए ।

झापा कारागारमा हाल ७५ जना महिला, पाँच जना आश्रित र १०७३ जना पुरुष गरी ११५३ जना कैदी रहेको जनाइएको छ ।