धरान : धरान उपमहानगरपालिकामा शनिवार बसेको बैठकले ४ वटा एम्बुलेन्सलाई चैविसै घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

कोरोना शङ्कास्पद व्यक्ति बसमा चढेर ओहोर दोहोरा गर्दा सर्न सक्ने हुँदा रोकथामका लागि एम्बुलेन्स सेवा निःशुल्क व्यवस्था गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।

सुनसरी रेडक्रस बाट १ ,सुनसरी एम्बुलेन्स चालक समितिबाट २ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ थान गरी जम्मा ४ थान एम्बुलेन्स राखिने छ ।

प्राप्त एम्बुलेन्स वैकल्पिक निर्णय नभएसम्म धरान भित्र र धरान बाहिर पनि निरन्तर चलिरहने फरेन्सिक मेडिसिन तथा टेक्सीकोलोजीका डाक्टर विकास शाहले बताए । उक्त एम्बुलेन्स विपी स्थित ओपीडी हेल्थ डेस्क अगाडी एम्बुलेश सेवा निः शुल्क राखिएको हो ।

उपमहानगरले चालकका फोन नंम्बरहरु समेत सार्वजनिक गरेको छ । ९८४२१६५८४२, ९८४२२६०३७३, ९८४२१६५८४२, ९८१२३९१२५० मा सम्पर्क गरी आफू पनि बाँच्न र अरूलाई पनि सचेतना गर्न धरान उपमहानगरपालिकाले अनुरोध गरेको हो ।

नेपाल रेडक्रस सोसाइटि सुनसरीबाट १३ स्थानमा नै हेल्प डेस्कका लागि पहिलो तालिम प्राप्त स्वयंसेवक खटाएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले बताए ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र कार्कीले धरानमा पर्याप्त आपूर्तिको सरसामानहरू भएकोले सेल्फ क्वारेन्टाइनमा रहेर आफै सुरक्षित हुन आग्रह गरे ।

बरामद भएको मास्क सेवाग्राहीलाई

करिब दुई साताअघि उपमहानगरपालिकाको अनुगमन टोलीले धरान १८ स्थित गार्जियन फर्माबाट करिब १९ सय मास्क लुकाएको अवस्थामा जफत गरेको माक्सहरु अनुगमन समितिको निर्णयमा सर्वसाधारण सेवाग्राहीलाई वितरण गरिएको मेयर तिलक राईले बताए ।

शनिवार उपमहानगरपालिकामा कोरोना सम्बन्धी बैठकमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मेयर राईले भने,‘हामीले ती मास्क सेवाग्राहीहरूलाई वितरण गरिसक्यौँ । गार्जियनलाई एक पटक सचेत गरायौँ ।’ ,

धरानमा हाल अभाव देखिएको मास्क महिला दिदीबहिनीहरूमार्फत उत्पादन गर्ने तयारी भइरहेको बताउँदै उत्पादन कपडाका माक्सहरु पनि धरानवासी लाई निः शुल्क वितरण गर्न राईले बताए ।