धरान : शाक्य कल्याण संस्था धरानले आयोजना गरेको महिला सीप विकास तालिम शनिवार समापन भएको छ ।

३ दिने तालिमबाट महिलाहरूले लाखामरी बनाउने, दुबोको माला बनाउने, नरिवल र सुपारी सजाउने सीप सिकेका छन् । लाखामरी नेवार समुदायको एक महत्त्वपूर्ण परिकार हो जुन विवाह तथा धार्मिक कार्यहरूमा अति आवश्यक मानिन्छ । त्यस्तै विवाहमा दुबोको माला, नरिवल र सुपारी पनि वैवाहिक कार्यमा आवश्यक हुन्छ । तालिमबाट महिलाको सिप विकास सँगै उद्यमशीलता विकास र क्षमता विकासमा पनि सहयोग पुगेको शाक्य कल्याण संस्थाका अध्यक्ष अमृतमान शाक्यले बताए ।

shakhya-samaj-dharan

शनिवार स्वयम्भू चैत्य महाविहारमा सम्पन्न तालिम शाक्य महिला समितिको संयोजकत्वमा सञ्चालन तालिममा ५० जना महिलाहरूको सहभागिता रहेको शाक्य महिला समितिकी संयोजक मञ्जु शाक्यले बताइन ।

सहभागीहरूको तर्फबाट विन्दा आचार्यले छोटो समयमा धेरै कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित धरान उपमहानगरपालिकाका उप प्रमुख मञ्जु भण्डारी सुवेदीले तालिमको प्रशंसा गर्दै तालिम लिएकाहरूलाई व्यावसायिक बनाउनु पर्ने कुरामा जोड दिइन ।