धरान : धरान जेसीजले कोरोना भाइरसबाट बच्न हात धुनकालागि पानी टङ्की र साबुनको व्यवस्था गरेको छ ।

बाटो हिँड्नेले हात धुन सजिलो हुने गरी ग्रीलको स्टेन सहित १ हजार लिटरको पानी टङ्कीमा बेसिन समेत जडान गरिएको छ । 

कोरोना मुक्त धरानः धरान जेसीजको अभियान भन्ने नाराका साथ यस किसिमको हात हुने व्यवस्था धरानको प्रमुख ४ ठाउँमा गरिएको छ । धरान-२ भानुचौकको वडा प्रहरी कार्यालय अगाडी, वार्ड नं.-१२ छाताको चौक सोमबारे हाट अगाडि, वार्ड नं.-८ को बरगाछीको मनकामना हार्डवेयर अगाडी, र धरान १८ को वी.पी. गेट अगाडी राखिएको छ ।

यी सामग्रीहरूको व्यवस्थापन गर्न धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय, मनकामना हार्डवेयर धरान ८, जय श्री ट्रेड एण्ड कन्सर्न, एप्पल डिजिटल प्रिन्टर्सले विशेष सहयोग गरेको धरान जेसीजका अध्यक्ष दीपेन्द्र निरौलाले बताए । घरमा पनि नियमित हात धुने बानीको विकास होस भन्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको निरौलाको जानकारी दिएका थिए ।

Jesij-2

आइतबार धरानको भानुचौकको वडा प्रहरी कार्यालय अगाडि रहेको हात धुने स्थानको शुभारम्भ इलाका प्रहरी कार्यालय, धरानका प्रमुख ढुण्डिराज न्यौपानेले गरेका थिए । 'कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने सबैभन्दा सजिलो उपाय घरमा नै बस्नु हो' । यदि बाहिर निस्कनु नै पर्ने भए बारम्बार हात धुनुपर्ने न्यौपानेले बताए । धरान जेसीज र सहयोगी निकायहरूले गरेको यस कामलाई स्वागत गर्दै अन्य ठाँउहरुमा पनि राख्न सके राम्रो हुने न्यौपानेले सुझाव दिएका थिए ।

यसै गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडी धरानका मेयर तिलक राईले हात धोएर उद्घाटन उद्घाटन गरेका थिए ।

अहिले विश्वव्यापी रूपमा प्रभाव पारेको कोरोना भाइरसकोबाट 'आफू पनि बचौँ अरूलाई पनि बचाऔं' सबैले सकेको सहयोग गरौँ भन्ने उद्देश्यका साथ धरान जेसीजले विभिन्न कार्यक्रमहरू अघि बढाएको धरान जेसीजका सचिव सरुपा थापा मगरले बताइन् ।