विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको आईतबार स्थलगत निरीक्षण गरेका छन् ।

प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थियो । क्वारेन्टाईन स्थलको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । मुख्यमन्त्री राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताए ।

मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेश अन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आईतबार देखि बन्द गरेको जानकारी दिए । साथै ठूला नाकाहरुमा आवागमनमा कडाई गर्ने जानकारी दिदै त्यहाँको चेकपोष्टहरुलाई कडाई तथा प्रभावकारी बनाउने बताए । प्रदेश सरकारले कोभिड –१९ नियन्त्रणका सम्वन्धमा कार्य योजना बनाएर सार्वजनिक गरेको जानकारी दिँदै मुख्यमन्त्री राईले यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको बताए ।

प्रदेशमा निर्माण हुने ५० शैय्याको आइशोलेशन वार्डको निर्माण एक हप्ता भित्रमा सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको पनि मुख्यमन्त्री राईले जानकारी दिए । उनले आईतबार बसेको सुरक्षा समितिको बैठकमा विराटनगरको रानी तथा कांकरभिट्टा नाकालाई व्यवस्थित र चेकजाँचमा कडाइ गर्ने निर्णय गरिएको बताउदै तेश्रो देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको बताए ।

प्रदेशका नागरिकलाई कोभिड–१९ को सङ्क्रमणबाट बचाउन उच्च प्राथमिकतामा राखिएको र प्रदेशका आवश्यक्ता अनुसार क्वारेन्टाइन र आइशोलन वार्ड निर्माण गरिएको पनि बताईएको छ ।