धरान : कोभिड १९ कोरोना भाईरसको कारण एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने भएको छ ।

आज सोमबार देखि अर्को सूचना जारी नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । नेपाल सरकारको निर्देशन अनुसार आज सोमबार विहान सुनसरी जिल्ला भित्र मात्रै यातायात संचालनमा छन भने बाहिर जाने कुनै पनि यातयात चलेका छैनन् ।

BHanuchok-1

सवारी साधन नचलेपछि अहिले धरानको भानुचौकमा यात्रुको बिजोग भएको छ । धरान देखि तरहरा, इटहरी, दुहवी र इनरुवा लगायत सुनसरी जिल्ला भरी सवारी चल्ने भए पनि पहाडी जिल्ला जाने सवारी साधन नचलेपछि यात्रुहरु भानुचौकमा अलपत्र परेका हुन् ।

विभागका अनुसार आज सोमबारदेखि काठमाण्डौं, ललितपुर र भक्तपुरभित्र गाडी ओहोरदोहार गर्न पाइने भए पनि काठमाण्डौं बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छैन् । यो नियम उपत्यकाका तीन शहर बाहेक सबैतिर लागु हुने विभागको भनाइ छ ।

सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । तर एम्बुलेन्स, पानी, औषधि, दूध, दमकल लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्नेछन् ।