धरान : एक चिनियाँ नागरिकलाई बी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा राखिएको छ ।

मोरङको भाउन्नेमा साथी भेटन आएका एक चिनियाँ नागरिकलाई स्थानियबासीले प्रहरी प्रशासनलाई खबर गरेपछि उनलाई गएराति मध्यरातमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा ल्याईएको हो ।

ती युवाले आफुसँग स्वास्थ्य रहेको मेडिकल रिपोर्ट पनि भएको दाबी गरेका छन् । तर, त्यो रिपोर्ट चिनियाँ भाषामा भएकोले नबुझिएको प्रतिष्ठानले जनाएको छ । उनी करिब दुई साताअघि नेपाल आएको कारण कोरोनाको आशंका गरेर डराउनु नपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । कोरोनाको परिक्षणका लागि थ्रोट स्वाब लिएर काठमाण्डौको टेकु अस्पताल पठाईने बताईएको छ । 

भागेका चिनिया नागरिकलाई मेयरको टोलीले पक्रियो
गएराति वीपी प्रतिष्ठान ल्यााइएका चिनियाँ नागरिक सोमबार विहान अस्पतालबाट भागेका थिए । चिनियाँ युवा धरानको चतरालाइनमा हिड्दै गरेको अवस्थामा फेला परेका थिए ।

उनलाइ धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा प्रहरी, र एम्बुलेन्सको टोलीले नियन्त्रणमा लिएर वी पी प्रतिष्ठानको आइसोलेसनमा पठाएको छ । उनलाई अहिले मोरङको टाडी स्थित क्वारेनटाईनमा लान तयारी गरिदै गरेको मेयर तिलक राईले कपुरीलाई जानकारी दिएका छन् ।