पथरी  : पथरीशनिश्चरे नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द भएको घोषणा गरेको छ । सोमवार बसेको कार्यपालिकाको बैठकले सबै सेवा बन्द गरेर करोनाबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

सोमवार नगरपालिकाले सूचना प्रकाशित गर्दै नगरपालिकाले प्रदान गर्ने सबै सेवाहरू कोरोना भाइरसको त्रासका कारण बन्द गरिएको जनाएको छ । कोरोनाको सम्भावित जोखिम कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । नगरपालिकाका सामाजिक शाखा प्रमुख शालिग्राम काफ्लेद्वारा हस्ताक्षरित सूचनामा सहरी स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी र नगर अस्पतालबाट प्रदान गरिने सेवा, एम्बुलेन्स, खाने पानी र फोहर मैला व्यवस्थापन बाहेकका सबै सेवा चैत्र २१ सम्म बन्द गरिएको जनाइएको छ ।

यसै बिच पथरी उद्योग वाणिज्य सङ्घ पथरीले पनि एक सूचना प्रकाशित गर्दै व्यापार व्यवसाय बन्द गर्न उद्योगी व्यापारीमा आग्रह गरेको छ । कोरोनाको जोखिम कम गर्न व्यापार व्यवसाय बन्द गरेर अति आवश्यक नभए घरमै बस्न आग्रह गरेको हो । अध्यक्ष दीपक बस्नेत र महासचिव अशोक साम्पाङद्वारा हस्ताक्षरित सूचनामा कोरोनाको सङ्क्रमण नफैलियोस् भनेर सतर्क हुन समेत आग्रह गरिएको छ ।