इटहरी : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि इटहरीको जनता क्याम्पसमा क्वारेन्टाइन बनाइने भएको छ ।

जनता क्याम्पसमा इटहरी उपमहानगरपालिकाले २०० क्षमताको क्वारेन्टाइन बनाएको हो ।

सोमबारबाटै क्वारेन्टाइन स्थल निर्माणको लागि आवश्यक पूर्वाधार जुटाउन उपमहानगरले थालेको छ । मङ्गलवारबाट भने क्वारेन्टाइन पूर्ण रूपमा सञ्चालनमा आउने उपमेयर लक्ष्मी गौतमले बताइन ।

क्वारेन्टाइन सँगै उपमहानगरले साना सवारी साधनहरूलाई जोर बिजोर प्रणाली लागु गराउने भएको छ । प्रदेश एक ट्राफिक कार्यालयलाई निरीक्षणको जिम्मा दिँदै इटहरी उपमहानगरले सिटी सफारी,अटो,म्याजिक लगायतलाई जोर बिजोर प्रणाली लागु गराउने भएको हो ।

उपमहानगरले भोलि मङ्गलवार देखि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र व्यापार व्यवसाय बन्द गर्ने आव्हान गर्ने भएको हो ।

क्वारेन्टाइनमा भित्र सङ्क्रमण हुने बिरामी र सङ्क्रमण आशङ्कामा ल्याइएका बिरामीका लागि उपमहानगरले दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

corona itahari press note