पथरी : पथरी शनिश्चरेको भुटानी शरणार्थी शिविरमा बस्दै आएका विकाश तामाङलाई आजकाल छाक टार्नै गाह्रो छ । विभिन्न दाताहरूले दिदैआएको खाद्यान्न कटौती गरेपछि तामाङ लगायतका अन्य शरणार्थीहरू श्रमका लागी जाने गर्दथे ।

तर अहिले मूलकभर लागेको लकडाउनको कारण श्रम समेत गर्न नपाएका उनीहरूलाई हात मुख जोर्न समेत मुस्किल बन्दै गएको छ ।

विभिन्न दाताहरूले दिँदै आएको रासन बन्द भएपछि गरेसँगै दैनिक मजदुरी गरेर खाने उनीहरूलाई छाक टार्नै गाह्रो भएको हो । ‘खानेकुरा पनि छैन काम गर्न जान पाएको छैन' तामाङले भने ‘हाम्रो बारेमा अब कसले पो चिन्ता गर्ने हो,भोकमारी आउने जस्तो भइसक्यो।'

शरणार्थीहरूलाई खाद्यान्न वितरण गत वर्षको मार्चदेखि पूर्णरुपमा बन्द गरिएको छ । खाद्यान्न वितरण बन्द सँगै शरणार्थीहरू श्रमका लागी शिविर बाहिर जाँदै आएका थिए ।

शिविर मा भोकमारी बढ्ने त्रास त छ त्यो बाहेक करोनाको सङ्क्रमण फैलने जोखिम रहेको शनिश्चरे शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले बताए । बाक्लो बस्तीमा बसेका उनीहरूले सामूहिक धारा प्रयोग गर्दै आएका छन् ।‘धारामा आउने पानी लिन बिहान बेलुका जम्मा हुनु पर्ने बाध्यता छ त्यसमाथि शिविर भित्र मास्क, साबुन र सेनिटाइजर कसैले वितरण नगरेको कारण कोरोना भाइरसको जोखिम रहेको छ’ राईले भने ।

कोरोनाको त्रास मात्र हैन,शिविर भित्रका नियमित औषधी प्रयोग गर्दै आएका भुटानी शरणार्थी शिविरका दीर्घरोगीहरुलाई औषधी लिन जान नै समस्या भएको छ । शिविरमा प्रेसर, सुगर, मुटु रोग र डिप्रेसन जस्ता रोगहरूको नियमित औषधि प्रयोग गर्ने बिरामी ३५ जना रहेका छन् । उनीहरूको स्वास्थ्य बिमा अनुसार निःशुल्क औषधी पाउँछन् ।

तेस्रो देश पुनर्वासमा नगएका शरणार्थीहरूलाई अहिले झापाको बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा राखिएको छ । पथरीशनिश्चरे शरणार्थी शिविर मा १ हजार ४ सय ५० जना भुटानी शरणार्थी रहेका छन् ।

शिविरमा रहेका अधिकांश शरणार्थीहरू स्वदेश (भुटान) फिर्न माग राख्दै आएका छन् । सोही कारण उनीहरू तेस्रो देश नगई भुटानी शरणार्थी शिविर मा रहँदै आएका छन् ।

केही शरणार्थी कागजपत्र नमिलेका कारण तेस्रो देश जान पाएका छैनन् भने केही अपराधीक क्रियाकलापमा रहेको आरोपमा यही रहँदै आएका छन् । तेस्रो देश पुनर्स्थापना तथा प्रमाणीकरण भने २०१७ वटै रोकिएको छ ।

शरणार्थी सुविधा कटौती हुँदै गएपछि दुवै शिविरका प्रतिनिधिहरूले पहिलो मागको रूपमा स्वदेश फिर्तीलाई अघि सारेका छन् ।