धरान : बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको कोरोना परिक्षण गर्ने ल्याबबाट कारोना भाइरस परिक्षणको रिपोर्ट आउन थालेको छ ।

प्रतिष्ठानमा पहिलो पटक परिक्षण गरिएका ४ वटा थ्रोट स्वाबको नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । सहप्रवक्ता डा. ऐरका अनुसार अव प्रतिष्ठानमै कोरोनाको परिक्षण गरेर कोरोना संक्रमित हो होईन भनेर पत्ता लाग्ने भएको छ ।

यसैगरी बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना हेल्प डेक्समा आफुलाई कोरोना आशंका गरी स्वास्थ्य परिक्षण गर्न आउनेको संख्या हप्ता दिनको अवधिमा १ सय ६४ पुगेको छ । यी मध्येबाट थ्रोट स्वाब लिएर कोरोना भाइरसको परिक्षण गरिएका २३ जनाकै कोरोना नभएको कोरोना नेगेटिभ रिपोर्ट आएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।

प्रतिष्ठानमा आएकाहरु मध्ये अहिले सम्म ११ जना आईसोलेसन वार्डमा भर्ना भएका थिए । जस मध्ये अहिले पुरानो १ जना र गएराति भर्ना भएका १ जना गरी प्रतिष्ठानको आईसोलेसनमा २ जना भर्ना भएका छन् भने ९ जना डिस्चार्ज भएका छन् ।

१ सय ६४ मध्ये अहिले सम्म १४ जना सरकारी क्वारेन्टाईनमा, १ सय ४० जनालाई होम क्वारेनटाईनमा रेफर गरिएको बताईएको छ ।