धरान : धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय-सर्वपक्षिय बैठकले नगर स्तरीय राहत समिति गठन गरेको छ ।

बुधवार धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले धरान उपमहानगरमा लकडाउनको बेलामा सहज तरिकाले राहत वितरण गर्ने भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राई संयोजक, उपमेयर मञ्जु भण्डारी सुबेदी सहसंयोजक रहेको ९ सदस्य नगर स्तरीय राहत समिति गठन गरेको हो ।

सो समितिको सदस्य सचिवमा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विदुर खनाल, सदस्यहरूमा क्रमशः ः पूर्व मेयर मनोजकुमार मेन्याङ्बो, गौरीशङ्कर अग्रवाल, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा, नेपाल रेडक्रस सोसाइटिका सभापति उमेश थापा, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्की र नेपाल पत्रकार महासङ्घ सुनसरीका प्रतिनिधि रहेका छन् ।

यो समितिले धरानको लकडाउनलाई व्यवस्थित गर्ने, राहत वितरणलाई व्यवस्थित बनाउने, धरानको सुरक्षा निकायहरूसँग समन्वय गर्ने, धरानमा खाद्यान्न, तरकारी जन्य बस्तुको आपूर्तिलाई सहज तथा व्यवस्थित बनाउने र राजनीतिक दलहरूसँग समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको धरान उपमहानगरपालिकाका सूचना अधिकारी खगेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

यसै गरी धरान उपमहानगरपालिकामा धरान उपमहानगरपालिकाका सूचना अधिकारीको खगेन्द्र खतिवडाको संयोजकत्वमा हेल्पडेस्क पनि स्थापना गर्ने निर्णय भएको छ ।