धरान :  लकडाउनमा खाद्यान्नकाे सहज बितरणकालागी धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैङ्कमा धरान जेसिजले एक हजार किलो चामल सहयोग गरेको छ ।

धरान जेसिजका अध्यक्ष दीपेन्द्र निरौला सहित पदाधिकारीहरूले मङ्गलवार उपमहानगरपालिका परिसरमा हजार किलो चामल मेयर तथा उपमेयरलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । यो चामल फुड बैङ्क मार्फत धरानका विपन्न परिवारहरूलाई राहत वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

लकडाउनको बेला पनि जथाभाबी राहत सङ्कलन र वितरण हुन थालेपछि उपमहानगरपालिकाले सोमबार एकद्धार प्रणालीमार्फत राहत दिनको लागि फुड बैङ्क स्थापना गरेको जानकारी दिएको थियो ।

बैङ्क स्थापनाको जानकारी आएको चौबिस घण्टा पनि नबित्दै जेसितले एक हजार किलो चामल सहयोग गरेको हो । धरान उपमहानगरका मेयर तिलक राईले लकडाउनले दैनिक गुजारा गरेर गरिखाने व्यक्तिको आश्रित परिवारलाई समस्या परेकाहरूलाई राहत कोष र फुड बैङ्क स्थापना भएको बताएका छन् । उनले वडागत रूपमा लगत सङ्कलन भइरहेको र चाँडै फुड बैङ्कमा जम्मा भएको राहत वितरण गरिने बताए ।

मेयर राईले जथाभाबी राहत सङ्कलन र वितरण नगर्न आग्रह गर्दै उपमहानगरपालिकाको फुड बैंकमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।