धरान : नेपाल विद्यार्थी संघ (नेविसंघ) महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले ३५ जना विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका लागि धरान बाहिरबाट आएर क्याम्पसको होस्टेल तथा डेरा गरि बस्ने ३५ जना विद्यार्थीहरुलाई बुधबार खाद्यान्न सामाग्री वितरण गरिएको नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक सभापति दोर्ची शेर्पाले जानकारी दिए ।

विद्यार्थीहरु बसेको घरघरमै पुगेर १० दिनसम्म पुग्ने चामल, नुन, तेल, दाल लगायत अत्यावश्यक खाद्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको शेर्पाले बताए ।

सरकारले मुलुकभर अकस्मात रुपमा गत चैत ११ गतेदेखि चैत २५ गतेसम्म लकडाउन घोषणा गरेपछि डेरा गरि बस्ने विद्यार्थीहरुलाई समस्या सृजना भएको नेविसंघले जनाएको छ ।

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले अझैपनि समस्यामा परेका विद्यार्थीहरुलाई सामाजिक सञ्जाल तथा फोन सम्पर्क मार्फत सम्पर्कमा आउन आब्हान गरेको छ ।