मोरङ : मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिना बराबरीको सेवा सुविधा नगरपालिकाको बिपद व्यवस्थापन कोषलाई दिने निर्णय गरेका छन् । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिको एक महिनाको तलब कोषमा दिने निर्णय गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

बेलबारीमा हाल ६० जना जनप्रतिनिधिहरू रहेका छन् । यसै गरी छैठौ वा सोभन्दा माथिका कर्मचारीको खाइपाइ आएको १५ दिनको तलब र छैठौ भन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय भएको मेयर सुवेदीले बताए ।

नगरपालिकाले यस अघि नै बिपद व्यवस्थापन कोषमा १५ लाख जम्मा गरी सकेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए ।

एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, निर्माण ब्यबसायि,वित्तीय सङ्घसंस्थाहरू ,समूह तथा ब्यक्तिहरुलाई सहयोग गरीदिन समेत नगर कार्यपालिकाको बैठकले आग्रह गरेको छ ।

'विभिन्न देश बाट आएका ९० जना भन्दा बढीको तथ्याङ्क सकलन गरिसकेका छौ' मेयर सुवेदीले भने 'दैनिक तिनीहरूको स्वास्थ्य अवस्था बुझ्ने देखी कोरोना भाइरस रोक्नथाका लागि भिडभाड हुने स्थानमा औषधीहरू छर्केन काम समेत भइरहेको छ ।' नगरपालिकाले १५ बेडको आइसोलेसन समेत बनाइसेको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समिति समेत गठन गरी सकेको नगरपालिकाले राहत प्याकेज समेत घोषणा गरी सकेको छ । नगरपालिकाले सर्वदलीय बैठक बोलाएर नगर समन्वय समिति गठन गरेको हो ।

राहतका लागि नगरपालिकाले १५ देखी २५ किलो चामल, १ किलो नुन, डेढ किलो सम्म र एक डल्ला साबुन दिने समेत निर्णय गरेको छ । ४ जना सम्मको परिवारलाई १५ किलो तथा त्यहाँ भन्दा बढीको परिवारलाई २५ किलोको दरले राहत दिने नगरपालिकाको कार्यालयले जनाएको छ ।