धरान : लकडाउनका कारण अहिले देशैभर रगतको अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाईटी सुनसरीले प्रदेश एकमा रगत अभाव भएकोले रक्तदान गर्न आव्हान समेत गरेको छ । यो चैत्र महिनाको सुरु देखिनै रगत अभाव थियो । चैत्र ११ गते देखि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर नेपाल सरकारले लकडाउन घोषणा गरेपछि भने झन ठुलो रगतको अभाव सिर्जना भएको नेपाल रेडक्रस सोसाईटी सुनसरीका सभापति उमेश थापाले बताए ।

नेपाल रेडक्रस सोसाईटीको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैकमा रगत अभाव भएपछि विरामीलाई माग अनुसारको रगत उपलब्ध गराउन नसकेको प्रतिष्ठानको ब्लड बैकका इन्चार्ज शुभाषचन्द्र सिंहले बताएका छन् । उनका अनुसार विहिबार मोरङको लायन्स क्लव अफ कानेपोखरी र रमाईलो बचत तथा ऋण सहकारी संस्थाले संयुक्तरुपमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१ पिन्ट रगत संकलन भएको छ । यसले थोरै भए पनि रगत अभावको पुर्ति गरे पनि रगत व्लड बैकमा अझै अभाव रहेको इन्चार्ज सिंहले बताए ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्रै दैनिक २५ देखि ३० पिन्ट रगत खपत हुने गर्दछ । अहिले पुर्वमा पुरै रगत अभाव भएको छ । त्यसैले सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन नहुनेगरी दुरी कायम गरेर सामाजिक संघ संस्थाहरुलाई रक्तदान गरीदिन रेडक्रस सोसाईटी सुनसरीले अनुरोध गरेको छ ।

यदी कोही रक्तदान गर्न इच्छुक भए बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको रेडक्रस सोसाईटीको ब्लड बैकमा गएर पनि रक्तदान गर्न सकिने नेपाल रेडक्रस सोसाईटीको ब्लड बैकका इन्चार्ज सुभाषचन्द्र सिंहले बताएका छन् ।