धरान : जन्मदिनको अवसरमा धरानका स्थानीय युवा सुदिप बज्राचार्यले दुई सय पचास किलो चामल सहयोग गरेका छन् ।

लकडाउन पछि मजदुरी गरेर खाने परिवारलाई वितरण गर्न उपमहानगरले बनाएको फुडबैंकमा बज्राचार्यले जन्मदिनको अवसरमा सहयोग गरेका हुन् ।

धरान स्थायी घर भई काठमाडौँ बसेर अध्ययन गर्दै आएका बज्राचार्यले उपमहानगर परिसरमा दुई सय पचास किलो चामल हस्तान्तरण गरेका हुन् ।

उपमहानगरले जथाभाबी राहत सङ्कलन र वितरण गर्न रोक लगाएपछि फुड बैङ्कमा सहयोग गर्न पनि आग्रह गरेको थियो । चामल फुड बैङ्क मार्फत धरानका विपन्न परिवारहरूलाई राहत वितरण गर्ने भएकाले आफ्नो जन्मदिनमा चामल सहयोग गरेको सुदिपले बताए ।