इटहरी : इटहरी उपमहानगरले ८० लाखको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि कोष स्थापना गरेको छ । नेपाल बैक इटहरीमा रहेको खाता नम्बर ०५९०३००००००००५००४०० मा ८० लाखको कोष निर्माण गर्दै सहयोगका लागि आग्रह समेत गरेको छ ।

बिहीबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले उपमहानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोगका लागि सबै सँग आव्हान गरेको हो ।

इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वडा स्तरमा पनि सर्वदलीय सर्वपक्षीय बैठक बसी विपत राहत वितरणलाई अझ व्यवस्थित गर्ने निर्णय गरेको छ ।

सोही बैठकमै श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीको तर्फबाट अध्यक्ष हेम घिमिरेले एकलाख एक हजारको चेक हस्तान्तरण गरेका थिए । यसैबिच आजै नेपाली काँग्रेस इटहरीको तर्फबाट पाँच हजार केजी चामल राहत वितरणका लागि इटहरी उपमहानगरलाई उपलब्ध भएको छ ।