झापा : प्रदेश नम्बर १ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै कोरोना भाइरसको परीक्षण हुँदै आएकोमा अब झापाको दमकमा पनि कोरोना शङ्कास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को दमकमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिएकी छन् ।

अधिकारीका अनुसार शङ्कास्पद बिरामीको नमुना परीक्षणका लागि सहज बनाउन आइओएमसँग आग्रह गरिएको छ । अहिले अमेरिका, अस्ट्रेलिया, संयुक्त अधिराज्य, न्युजिल्यान्ड सहितका मुलुक जान चाहनेका लागि आइओएमले स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।

अत्याधुनिक प्रयोगशाला भएको कारणले सहज हुने अपेक्षा गरिएको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिए । दमकमा अहिले ५ जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका र विदेशबाट आएकाहरू सम्पर्कमा रहेको बरालले बताए ।

यस्तै नगरपालिकाले नगरभित्रका अति विपन्न वर्गकाहरुलाई वडा तथा टोल विकास संस्थाको समन्वयमा राहत वितरणको कामलाई तीव्रता दिइरहेको नगर प्रमुख रोमनाथ ओलीले बताए ।