धरान : भेडेटारको साँगुरीगढी पाथीभरा सामुदायिक वनमा आइतबार साँझ देखि लागेको डढेलो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.६ कोलबोटेबाट आइतबार साँझ ५ बजे देखि सुरु भएको डढेलो मंगलबार बिहान सम्ममा पनि नियन्त्रणमा आउन नसकेको भेडेटार प्रहरीले जनाएको छ ।

डढेलोले साेमबार साँभफ सम्ममा २५ सय रोपनी भन्दा बढी वन क्षेत्रमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । रातभरि डढेलो लाग्यो डढेलो लागेको क्षेत्र बढेको छ । अहिले डढेलो नियन्त्रणका लागि टोली डढेलो लागेको क्षेत्रमा गइरहेको प्रहरीले बताएको छ । हिजो साँझ सम्म जोखिम क्षेत्रमा आगो नियन्त्रण गरी अग्नि रेखा बनाई डढेलो नियन्त्रणमा गएका सबै फर्किएकोमा आज डढेलो बढेर गएको इलाका प्रहरी कार्यालय भेडेटारका सई यदु खड्काले जानकारी दिएका छन् ।

डढेलो नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामुदायिक बनका पदाधिकारी तथा बन समूहका सदस्यहरू र स्थानीयवासी डढेलो क्षेत्रमा गइरहेका छन् ।