बिराटनगर : प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० लाख जम्मा भएको छ ।
यो संगै कोषमा रकम दाखिला भएको परिमाण ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० पुगेको छ । कोषमा सोमबार सम्म ११ करोड ६५ लाख ११ हजार ३१ रुपैयाँ थियो ।

सरकारले प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ ।

प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या थपियो
बिराटनगर प्रदेश १ मा वेड संख्यासंगै कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या थप भएको छ ।

मंगलबार क्वारेन्टाइनको बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ सय ५४ पुगेको हो ।

क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएको छ । सरकारले तोकेका केन्द्रहरुमा मंगलबार सम्म जम्मा २ हजार ८ सय ८५ जना क्वारेनटाइनमा बसेका छन् । सोमबार यो संख्या २ हजार ८ सय ४७ जना थियो । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा थप भएर सो संख्यामा पुुगेको हो ।

आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएका छन् । सोमबार डिस्चार्ज हुने संख्या ११ थियो । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । तीमध्ये ८५ जनाको रिर्पोट नेगोटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २० महिला र ७० पुरुष छन् ।