धरान : नेपाली काँग्रेसले धरानमा अनुगमन गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिन नदिन तथा रोकथाम र उपचारका लागि धरानमा भइरहेको प्रयास र लामो समयदेखि जारी लकडाउनका कारण आम नागरिकमा पर्न गएको प्रभाव तथा दैनिक ज्याला मजदुरी गर्ने विपन्न नागरिकहरूका लागि उपलब्ध गराउँदै आएको राहत लगायतको सन्दर्भमा नेपाली काँग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुरेन्द्र गोलेको नेतृत्वमा काँग्रेसले अनुगमन गरेको हो ।

अनुगमन तथा समन्वय टोलीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक आवासीय महाविद्यालय स्थित क्वारेन्टाइन भवन, इलाका प्रशासन कार्यालय, कृषि उपज बजार र केही तरकारी पसलमा अनुगमन गरेको छ ।

अनुगमन टोलीमा महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य अनिल श्रेष्ठ, प्रदेश सभा सदस्यका प्रत्याशी एवम् निवर्तमान नगर सभापति किशोर राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाईँ, महेन्द्र बहूमुखी क्याम्पस धरानका पूर्व प्रमुख डा. चन्द्र सुब्बा लगायत रहेका थिए ।

टोलीले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्खरै सञ्चालनमा आएको कोरोना परीक्षण ल्याब तथा उपकरण, सङ्क्रमित एवम् आशङ्कित व्यक्तिको उपचारका लागि व्यवस्था गरिएको आइसोलेशन वार्ड, आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणको अवस्था बारे प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु प्रसाद खनाल र आकस्मिक कक्ष तथा फेमिली मेडिसिन विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लसँग जानकारी लिएको थियो ।

अनुगमनका क्रममा उपकुलपति खनालले हाल २० बेड क्षमताको आइशोलेसन वार्डको प्रबन्ध मिलाइएको भएता पनि भेन्टिलेटर २ वटा मात्र भएकाले गम्भीर प्रकारका सङ्क्रमितको सङ्ख्या वृद्धि भएमा अहिलेको क्षमताले थेग्न नसक्ने बताए ।

उनले आवश्यक भेन्टिलेटर खरिद गरी २० बेड क्षमताको आई.सी.यु.थप गर्ने तयारी थालिएको बताए । साथै हाल प्रतिष्ठानमा स्थापना गरिएको कोरोना परीक्षण ल्याबमा दैनिक १२ जनाको स्वाव परीक्षण गर्न सकिने बताउँदै आवश्यकता परे रातमा समेत परीक्षण गरी २४ जना सम्मको परीक्षण गर्न सकिने जानकारी दिएका छन् ।

प्रदेश १ अन्तर्गतका सरकारले तोकेको अस्पताल, निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरूले कसैलाई ज्वरो आउने बित्तिकै प्रतिष्ठान पठाउने गरेमा समस्या उत्पन्न हुने अवस्था रहेको डा. मल्लले बताए ।

उनले हिजो विदेशबाट आएकाहरूलाई मात्र क्वारेन्टाइनमा पठाउने, स्वाव परीक्षण गर्ने र आइशोलेशनमा राख्ने गर्दै आएकोमा कोरोनाको महामारी दोस्रो चरणमा पुगेकाले अब परिवार र सम्पर्कमा आएका सबैको परीक्षण गर्नुपर्ने र सामान्य अवस्थाका बिरामीलाई समेत आइसोलेशनमा राख्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

सोही क्रममा सचिव तामाङले कोरोना बाहेकका बिरामीहरूको स्वास्थ्य उपचारलाई पनि सहज र सरल बनाउन आग्रह गरेका छन् ।

त्यसै गरी टोलीले धरानको सैनिक आवासीय महाविद्यालयमा रहेको क्वारेन्टाइनको अवस्थाबारे पनि जानकारी लिएको छ ।

हाल ६० क्षमताको क्वारेन्टाइनलाई ८४ क्षमताको बनाउने योजना रहेको पाइएको छ । बराह नगरपालिकाको ५ र ७ को ३ जना तथा धरान उपमहानगरपालिका वडा नं. ६ र १० को गरी ५ जना क्वारेन्टाइनमा रहेकोमा बराह-५ र धरान-६ का गरी २ जनालाई चिकित्सकको सिफारिसमा होम क्वारेन्टाइनमा पठाइएको पाइएको बताइएको छ ।

इलाका प्रशासन धरानका प्रमुख चन्द्र कार्की समक्ष पनि टोलीले लक डाउनलाई प्रभावकारी बनाउने तथा लक डाउनको समयमा जनजीवनलाई सरल र सहज बनाउने सन्दर्भमा भइरहेको गतिविधिका सन्दर्भमा चासो राखेको छ । उनले पानीटंकी, भारतका २ जना र इटहरी–५ का १ जना गरी ३ जनालाई मोरङको टांडीस्थित क्वारेन्टाइनमा पठाइएको बताउँदै कोरोना सङ्क्रमणबाट बच्नको लागि लक डाउन नै उत्तम विकल्प भएकाले यसलाई पूर्ण पालना गर्नुपर्ने बताए ।

टोलीका सदस्य किशोर राईले राहत वितरण प्रभावकारी नभएको भन्ने जनगुनासो आइरहेकोतर्फ जिज्ञासा राख्दा पर्याप्त राहत सामाग्री नभएको र वडा स्तरमा सर्वपक्षीय समिति मार्फत विवरण सङ्कलन र वितरणको कार्य नहुँदा यस्तो जनगुनासो आएको बताउँदै यस विषयमा बैठकमा कुरा राख्ने बताए ।

टोलीले धरानको कृषि उपज बजारमा पुगी फलफूल तथा तरकारीजन्य खाद्य पदार्थको सुपथ मूल्यमा सहज ढङ्गले आपूर्ति गर्न र विक्री वितरणमा भइरहेको कालोबजारी नियन्त्रण गर्ने सम्बन्धमा अध्यक्ष परशुराम कटवालसँग भेटघाट गरेको छ ।

कालोबजारी गरी महँगोमा विक्री वितरण गर्ने गरिएको जनगुनासो आएपछि दैनिक मूल्य सूचि निर्धारण गरी वडा वडामा तोकिएको खुद्रा व्यापारी मार्फत विक्री वितरण गर्ने व्यवस्था मिलाइएको र हाल पहाडी जिल्ला र तराई वाट नै पर्याप्त मात्रामा आपूर्ति भइरहेको बताए ।

भेटघाटको क्रममा टोलीका सदस्य पर्वत राई, अनिल श्रेष्ठ र सागर प्रसाईँले महँगी नियन्त्रण गर्न प्रत्येक खुद्रा व्यापारीले आलोपालो विक्री वितरण गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

टोलीका संयोजक तामाङले अनुगमन पश्चात् संक्षिप्त कुरा राख्दै धरानमा कोरोना रोकथाम, नियन्त्रण, उपचार, लक डाउन, राहत वितरण लगायतका सम्बन्धमा गरिँदै आएको कार्यहरू सन्तोषजनक नै पाइएको बताउँदै पर्याप्त भने नभएको बताए । उनले अनुगमन र समन्वयको कार्यलाई लकडाउन अवधिभर निरन्तरता दिइने बताए ।