झापा :  *विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेका बेला विदेशमा विभिन्न बहानामा पुगेका नेपालीहरूमा थप चिन्ता चुलिएको छ । उनीहरू अब के गर्ने कसो गर्ने भन्ने समस्याले ग्रसित बन्दै जान थालेका छन् ।

अस्ट्रेलियाको डार्बिनमा बस्दै आएका कपिल बजगाईँ त्यहाँ पुगेको ३ वर्ष बित्नै लागेको छ । यो ३ वर्षको अवधिमा उनले अस्ट्रेलियामा रहेका अन्य बिद्यार्थीहरु समस्यामा पर्दै गएको देखेका थिएनन् । तर कोरोनाको सङ्क्रमण विश्वभर फैलिँदै गएसँगै अष्ट्रेलियापनि यसबाट अछुतो रहेन । त्यसैका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीहरू समस्यामा पर्दै जाने अवस्था आउन सक्नेमा उनी सुरक्षित रहन सबैलाई आग्रह गर्छन् ।*

बजगाईँ बसेको डार्बिन सहरमा अहिले कोरोना सङ्क्रमित नभेटिए पनि अन्य सहरमा सङ्क्रमितहरू बढ्दै जाँदा उनमा त्रासले डेरा जमाएको छ ।

बजगाईँ मात्र हैन हेटौडा घर भएर चार वर्ष अगाडी अस्ट्रेलिया पुगेका सागर पनि अस्ट्रेलियाको बसाई डर मर्दो हुँदै गएको बताउँछन् । अस्ट्रेलियामा रहेका नेपालीहरू घर फर्कन चाहिरहेको बताउँछन् ।

कोरोना भाइरसका कारण आफू मात्र नभएर समग्र बिद्यार्थीहरु अहिले समस्यामा परेको उनको पनि गुनासो छ । पढाई खर्च तिर्नका लागि कमाउनुपर्ने बाध्यता भए पनि अहिले कहीँ काम नपाउने भएपछि खान र बस्नकै चिन्ता चुलिँदै गएको सागर बताउँछन् ।

झापाको बुद्धशान्ती गाउँपालिका घर भएका प्रमिस तिम्सिना पनि विद्यार्थी भिसामा ११ महिना अघि अस्ट्रेलिया गएका हुन् । उनी पनि यो विषम परिस्थितिमा नेपाल सरकारको सहयोगको अपेक्षा गरिरहेको सुनाउँछन् ।

'जति नेपालीहरू थिए उनीहरू प्राय होटेल तथा रेस्टुरेन्टमा काम गर्थे' तिम्सिना भन्छन् 'तर कोरोनाको सङ्क्रमण र त्रासका कारण सबै बन्द हुँदा आफै कसरी बाँच्ने भन्नेमा अन्योल भइरहेको छ ।'

अप्ठ्यारो अवस्थामा राज्य खोजिरहेका अस्ट्रेलियामा बस्नेहरूले कूटनीतिक पहल गरेर आफूहरूलाई राहत हुने किसिमको प्याकेज ल्याउन उनी नेपाल सरकारसँग माग गरिरहेका छन् ।

अस्ट्रेलिया पुगेका नेपालीहरू यति बेला सङ्कट र त्रासमा बस्नु परेको झापा शनिअर्जुन घर भई हाल अस्ट्रेलियामा बस्दै आएका सुमन थापाको गुनासो छ ।

उनी भन्छन्, 'मर्नुपरे आफ्नै देशको माटोमा मरौँला तर यो बिरानो मुलुकबाट घर फर्कने व्यवस्था सरकारले गरिदियोस् ।'

*सम्पादित