प्रकाशपुर : बुधवार प्रकाशपुरको धरहरा कृषि सहकारी संस्थाले १२ बजे रासायनिक मल किन्न बोलाएको थियो । ८० बोरा रासायनिक मल किन्नका लागि झन्डै हजार भन्दा बढी मान्छेहरू भेला भएका थिए ।

चाहिने भन्दा कम मात्र आएपछि सहकारीमा मान्छेको भिड लागेको थियो । सामान्य अवस्थामा यो बेला १००० बोरा मल सहकारीले बेच्ने गर्थ्यो । तर मकैमा मल हाल्ने बेलामै ८० बोरा मात्र कृषि कम्पनी लिमिटेडले पठायो ।

लकडाउनको बेला भारतबाट चाहिने भन्दा निकै कम आउन थालेपछि ग्रामीण भेगको कृषि नराम्ररी प्रभावित भएको छ । सहरका जनतालाई यति बेला खाद्यान्नको अभाव छ । गाउँका लाई भने खाद्यान्न अभाव भन्दा पनि यति बेला खेतमा हाल्ने रासायनिक मलको अभाव सुरु भएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडले निकै कम मात्र सहकारीमा पठाएपछि रासायनिक मल लिन आएका कृषकहरूको भिडलाई प्रहरीले नै नियन्त्रण लिएको थियो । बेच्नु भन्दा अगाडी हजारौँको भिड लागे पछि सहकारीले मल वितरण गर्न तत्काल बन्द गरेको छ ।