झापा : लकडाउनको कारण अहिले दैनिक ज्यालादारी गर्ने र अति विपन्न परिवारकालाई दैनिक छाक टार्न धौधौ भइरहेको छ । सरकारले लकडाउन घोषणा गरेसँगै स्थानीय तहहरूलाई लगत सङ्कलन गरेर राहत वितरण गर्न सङ्घीय सरकारले निर्देशन समेत दिई सकेको छ ।

त्यसैले यति बेला दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरूलाई राहत उपलब्ध गराउने क्रम पनि बढ्दै गएको छ ।

यही क्रममा झापाको दमक स्थायी घर भई हाल रोजगारीका सिलसिलामा जापानमा रहनुभएकी नेपाली चेली पुष्पा बजगाईँ गौतमलेपनि राहत उपलब्ध गराएकी छिन । आफ्ना श्रीमान् विनोद गौतम मार्फत उनले दमक नगरपालिका वडा नम्बर ९ का १० जना र वडा नम्बर ४ का १० जना अति विपन्न परिवारलाई राहत उपलब्ध गराएकी हुन् ।

जापानमा समेत अहिले कोरोनाको सङ्क्रमण फैलिरहेको छ । तर गौतमले दमक ४ स्थित चिया दोकान नजिकै रहेको घरमा भाडामा ४ वटा विभिन्न पसलहरू सञ्चालन गर्नेहरूलाई पनि चैत महिनाको भाडा मिनाहा गरेको घोषणा गरेकी छिन् ।

यस्तो विषम परिस्थितिका समयमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म भएकाले आफूहरूले सहयोग गरेको गौतमको भनाइ छ ।

जापान बाट पटाइदिएको राहत वडा सदस्यहरूले उपलब्ध गराएको नाम अनुसारका सम्बन्धित परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरण कार्यक्रममा पुष्पाका श्रीमान् विनोद गौतमले राहत वितरणको कुनै पनि तस्बिर र भिडियो नखिचिदिन सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।

राहत उपलब्ध गराइयो भनेर सामाजिक सञ्जाल र मिडियामा देखाउने भन्दपनि समस्यामा परेकाहरूलाई सहयोग गर्न पाउदानै खुसी भएको गौतमले बताए ।