धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा विहिबार नियुक्त भएका प्रा.डा. ज्ञानेन्द्र गिरी विराटनगर महानगरपालिकाको पुरानो हवाई फिल्ड निवासी हुन् ।

उनले नेपाल सरकारबाट छात्रवृती  पाएर एमविविएस पढन पाउने एक उत्कृष्ट विद्यार्थी हुन् । उनले भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालबाट एमडी गरी त्यही हृदय रोग सम्वन्धी एक बर्ष तालिम गरेका थिए । त्यसपछि उनी अमेरिकाको कोर्नार्डाे युनिर्भसिटी अफ डेनभर्वमा एसोसिएट प्रोफेसर भई पढने र पढाउने काम गरे ।

त्यस पछि उनी आफ्नै देशमा केही गर्ने सोचका साथ स्वदेश फर्किए । उनी सरकारी जागिरमा प्रबेश गरेपछि तत्कालिन कोशी अञ्चल अस्पताल विराटनगरको मेडिकल सुपरिटेन्ट बने । पुर्वमा मेडिकल कलेज हुनुपर्छ भन्ने  सोचका साथ नोबेल अस्पताल विराटनगरका संस्थापक अध्यक्ष बने । विराट नर्सिङ होम विराटनगरमा पनि केही समय आवद्ध रहे भने विराट मेडिकल कलेजमा प्रोफेसरको रुपमा काम गरे । हाल काठमाण्डौको वि एण्ड सी अस्पतालमा आवद्ध उनी मुटु रोग विषेशज्ञ हुन् ।

बाम विचारधारका प्रा.डा. गिरी हक्की र निडर स्वभावका रहेको उनलाई नजिकबाट चिन्ने विराटनगरका अजय गिरी बताउछन् ।

निकै लामो समय देखि उपकुलपति विहिन रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्ति भए पछि प्रा. डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको समस्याहरु बुझेर समाधान गर्ने र सही मार्गमा ल्याउने बताएका छन् । उनले कपुरीसंग टेलिफोनमा कुरा गर्दै भने “प्रतिष्ठानलाई देशकै उत्कृष्ठ र प्रतिष्ठित संस्था बनाउने छु । ’’