विजयपुर : सामान्य अवस्थामा चैतको पहिलो साता भित्र धरान विजयपुरका किसानहरूले आफ्नो बारीमा मकै छरी सकेका हुन्थे । गोरुको सट्टा ट्रयाक्टरले खेत जोताएर खेती गर्ने किसानहरू अहिले खेती गर्न पाएका छैनन् ।

लकडाउनमा अत्यावश्यक भनेका साधन बाहेक चल्न नदिने सरकारको निर्णयको कारण ट्रयाक्टर अहिले बाहिर निस्किएका छैनन् ।

स्थानीय कृषक सरस्वती पोख्रेल भन्छिन् ‘खेत बाँझै छ, जोत्न गोरु छैन अरुबेला ट्रयाक्टर लगाएर जोत्ने गर्थ्यौ अहिले त्यसलाई पनि लकडाउन लागेको छ।'

मकै खेतीमा आश्रित धरान विजयपुरका किसान लकडाउनका कारण मकै खेती गर्न नपाउँदा समस्यामा परेका छन् । पोखरेलको मात्र हैन धरान विजयपुरका अधिकांश किसानको बारीहरू बाँझै छन् । 

खेत जोत्न मात्र हैन लकडाउनकै कारण किसानले मलखाद समेत खरिद गर्न पाएका छैनन् । खाद्यान्न पसल मात्र खुल्ने गरेको धरानमा कृषि पेसाका लागी आवश्यक मल र बिउकोहरुलाई हम्मे पर्ने थालेको छ ।

विजयपुरकै कुमारी श्रेष्ठलाई सरकारले राहतको सट्टा सुरक्षित साथ ट्रयाक्टर चलाउने प्रबन्ध गरिदियोस् जस्तो लागेको छ ।

श्रेष्ठले भनिन् ‘हामीलाई अहिले खेतीका लागी ट्रयाक्टर र मल खादको व्यवस्था गरिदिए हुने त्यो बारे स्थानीय सरकारले चासो दिनु पर्छ’ ।

स्थानीय किसान पर्शुराम खतिवडाको बारीमा साधारण समयमा मकै उम्रिएका हुन्थे तर यो वर्ष लकडाउनकै कारण मकै रोप्ने खेत जोत्न पनि सकेका छैन । मकै बेचेर घर परिवारको आवश्यक अन्य सरसामान जुटाउने किसानहरू लाई चिन्ता थपिएको छ ।

खतिवडा भन्छन् ‘रोगले मर्ने डर एकातिर भयो, भोकले मर्ने डर पनि लाग्न थालेको छ ।'

यहाँका किसान खेती गर्न ट्रयाक्टरकै भर पर्दछन् । मल बोक्ने देखी खेत जोत्न सम्म ट्रयाक्टर प्रयोग गर्ने किसानलाई लक डाउनले असर पुर्‍याएको छ । गत वर्ष आठ बिघा जग्गामा मकै खेती गरे पनि यस वर्ष खेत जोताउन नपाउँदा ठुलै आर्थिक क्षति हुने आकलन गर्छिन् विजयपुरकी सावित्री थापा ।

मकै नछरिँदा स्थानीयको बारीमा अहिले बाख्रा र गाई पगाहा लगाउने थलो भएको छ । किसानलाई मकै नरोप्दा पछि मकैको घाँसले धानेको पशुपालनमा पनि समस्या आउने त्रास छ ।

स्थानीय कालीबहादुर तामाङका अनुसार अहिले वाली लगाउन पाइएन पछि पालेका पशुलाई घाँस के खुवाउने भन्ने चिन्ता थपिएको छ ।

वडाको समन्वयमा किसानलाई ट्रयाक्टर उपलब्ध गराइदिन यहाँका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लाई यहाँका स्थानीयले पटक पटक आग्रह गरिसकेका छन् । भट्टराई पनि यसका लागी पहल थालेको बताउँछन् ।

भट्टराईले भने 'नगर सँगको समन्वयमा ट्रयाक्टर ल्याउन पहल गरेको छु ।'