धरान : कोरोना भाइरस महामारी नियन्त्रणको लागि धरानले सडकमै बस्नेहरूलाई पनि व्यवस्थित आवास बनाएर राख्ने भएको छ ।

सडकमा बस्दै आएकाहरूले सङ्क्रमण फैलाउन सक्ने धरानका सुरक्षाकर्मीहरुले सुझाव दिएपछि सडकमा बस्नेहरूलाई उपमहानगरले एकीकृत आवास गृह बनाएर राख्ने भएको हो ।

बिहीबार भएको बैठकले सडकमा अवस्थित रूपमा रहेका मानिसहरूलाई धरान- ८ स्थित लांघाली सामुदायिक वनको आवास गृहमा राख्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले खाने र बस्ने व्यवस्थापन गर्ने तथा प्रहरीले सुरक्षा दिने पनि निर्णय भएको छ ।

उनीहरूलाई लकडाउन अवधि पछि पनि आवश्यक व्यवस्थापन गरिने मेयर तिलक राईले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी राजेश पौडेल समेत निर्णय प्रक्रियामा थिए ।

धरानको मारवाडी सेवा समितिले आवास गृहमा बस्नेहरूलाई प्रति गोटा पोसाक, तन्ना, ब्लाङकेट, तकिया सहयोग गर्ने भएको छ ।

धरानमा करिब ५० जनाको सङ्ख्यामा सडकमा मानिसहरू रहेको तथ्याङ्क छ । उनीहरूलाई लकडाउन अवधिभर राखेर पछि आफन्तको जिम्मा लगाएर व्यवस्थापन गरिने छ ।

आफन्त नभएकाहरूलाई प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर आवास गृह भएको ठाउँमा पुर्‍याइने मेयर राईले जानकारी दिए ।